काठमाडौँ । भोटेकोशी बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । नयाँ ट्रयाकमा परीक्षणका रूपमा यातायात सञ्चालन भइसकेको छ भने आगामी असोज १ गतेदेखि दुईतर्फी यातायात नियमित सञ्चालन गरिने भएको छ ।
कृष्णभीरमा बाढीले सडक संरचनामा क्षति पुर्याएपछि सडक विभागले पहाड काटेर नयाँ ट्रयाक निर्माण थालेको थियो । भदौ १९ गतेदेखि रुख कटानसहित काम सुरु गरिएकोमा १० दिनमै अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा सवारीसाधन सञ्चालन गर्न सकिएको सडक विभागले जनाएको छ ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार विज्ञहरूको प्राविधिक अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने निर्णय गरिएको थियो ।
“विभागले विज्ञहरूबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो । कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर ट्रयाक निर्माण भइसकेको छ,” पौडेलले भने ।
उनका अनुसार प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेका थिए । ट्रयाक खुलेपछि भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन भइरहेका छन् । अहिले बिहान र बेलुका अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न दिइएको छ ।
हाल नयाँ ट्रयाकमा ग्राभेल बिछ्याउने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । “भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा हुनेछ । असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ,” पौडेलले भने ।
पहिरोको जोखिम घटाउन उपकरण तयारी
नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक तयारी गरिएको विभागले जनाएको छ । पहिरो खसे तत्काल हटाउन आवश्यक उपकरण घटनास्थलमै तयारी अवस्थामा राखिनेछन् ।
पानीसहितको लेदो आएर सडकको ग्राभेल बगाउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप ग्राभेलसमेत मौज्दात राखिएको छ । पहाडभित्रबाट पानी सिपेज भएर सडकमा आउन नदिन ‘सर्फेस ड्रेनेज’को व्यवस्था गरिएको छ ।
कृष्णभीरमाथिको पहाडमा देखिएका चिराबाट पानी पस्न नदिन पनि आवश्यक काम भइरहेको छ । चिरालाई उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी सिल गर्ने र प्लास्टिकले छोपेर पानी प्रवेश गर्न नदिने तयारी गरिएको छ ।
बेनीघाट–फिस्लिङ वैकल्पिक ट्रयाक पनि बन्दै
कृष्णभीरमा पुनः समस्या आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा विकास गर्ने काम पनि अघि बढाइएको छ । उक्त सडकलाई यात्रुवाहक सवारीसाधनसमेत सञ्चालन गर्न मिल्ने गरी तयार गरिँदैछ ।
नयाँ ट्रयाकमा रातिको समयमा यातायात सुरक्षित बनाउन सडक विभागले स्थानीय तहसँगको समन्वयमा बत्ती जडान गर्ने तयारी गरेको छ । सडकमा टल्किने स्टिकरलगायतका ट्राफिक सुरक्षा सामग्रीसमेत राखिनेछन् ।
हाल निर्माणका क्रममा बिहान करिब ६ देखि ७ बजेसम्म र बेलुका ६ देखि ७ बजेसम्म सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ । अत्यावश्यक अवस्थामा निर्माण कार्य रोक्दै सवारीसाधन पास गराउने व्यवस्था गरिएको छ । रातिको समयमा भने सडक पूर्ण रूपमा बन्द छ ।
यसअघि भदौ १० गते भोटेकोशीमा आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो । भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधन गर्दै बाढीबाट क्षतिग्रस्त कृष्णभीर सडकखण्ड भदौभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसअनुसार पूर्वाधार विकास मन्त्रालय र सडक विभागले नयाँ ट्रयाक निर्माणको काम अघि बढाएका थिए ।
.jpg)
