भोटेकोशी बाढीका प्रभावित परिवारलाई रेडक्रसले १ लाख रुपैयाँ दिने

भोटेकोशी बाढीका प्रभावित परिवारलाई रेडक्रसले १ लाख रुपैयाँ दिने

images
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित लक्षित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ।

    रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सहयोग घोषणा गरेका थिए । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच मंगलबार भएको सम्झौताअनुसार ‘समुन्नति कार्यक्रम’मार्फत उक्त रकम वितरण गरिनेछ।

    नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढीबाट प्रभावित करिब ६ हजार परिवार रहेको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्क र आवश्यक प्रमाणीकरणपछि लाभग्राहीको पहिचान गरी रकम सीधै बैंक खातामा जम्मा गरिनेछ।

    उनका अनुसार परिवारले प्राप्त रकम खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनलगायतका आवश्यकतामा खर्च गर्न सक्नेछन्।

    नगद सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक लगायत जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ।

    बाढीपछि रेडक्रसले खोज तथा उद्धार, राहत, शव व्यवस्थापन, खानेपानी तथा सरसफाइ, आवास, मानसिक स्वास्थ्य र संरक्षणलगायतका क्षेत्रमा मानवीय सहायता जारी राखेको जनाएको छ। आगामी तीन महिनाका लागि आवश्यक राहत तथा पुनर्लाभका कार्यक्रमसमेत तय गरिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend