काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ हुने बडादसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदै छ।
बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। घटस्थापनाका दिन घरको पूजा कोठा वा दसैँघरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको आह्वानसहित पूजा आरम्भ गरिन्छ।
घटस्थापनाका दिन बिहानै नित्यकर्म पूरा गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँघरमा राखिन्छ। त्यसमाथि विधिपूर्वक जौँ रोपेर जमरा राख्ने परम्परा छ।
जौँको अङ्कुर दुर्गा भवानीको प्रिय वस्तु मानिने भएकाले घटस्थापनाका दिन रोपिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै ग्रहण गरिन्छ। पहेँलो जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिने धार्मिक मान्यता छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा। डा। रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका रूपमा जौँ रोप्ने विधान छ। यद्यपि, कुल परम्पराअनुसार कतिपयले जौँसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ।
घटस्थापनाको साइत बिहान ११ः४७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको छ। दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तलाई घटस्थापनाका लागि उपयुक्त साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा। डा। पुरुषोत्तम भट्टराईले बताएका छन्।
सूर्योदयकालमा प्रतिपदा भएका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको समितिले जनाएको छ। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलिएका प्रचार शास्त्रसम्मत नभएको पनि समितिले स्पष्ट पारेको छ।
महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा
दसैँको नवरात्रभर दुर्गा भवानीका तीन स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।
घटस्थापनादेखि सुरु हुने नवरात्रमा भक्तजनले दुर्गा भवानीको पूजा, आराधना र उपासना गरी सुख, शान्ति, समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्छन्। बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन छ।
.jpg)
