‘संसारमै गरिबको छैन राज्य भन्छन्.... '

‘संसारमै गरिबको छैन राज्य भन्छन्.... '

अझै पनि गरिब मानिस राज्यसँग हारिरहेको छ

images
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । काठमाडौंको बिहान अरू दिनजस्तै थियो। सडकहरू ब्युँझिरहेका थिए। मानिसहरू आफ्नो–आफ्नो गन्तव्यतर्फ दौडिरहेका थिए। कसैका लागि त्यो सामान्य बिहानी थियो। तर मुगुको एउटा गरिब घरबाट सपनाको भारी बोकेर राजधानी आइपुगेका २५ वर्षीय गणेश नेपालीका लागि त्यो बिहान अन्तिम आशाको बिहान साबित भयो।
    भक्तपुरमा श्रीमती र तीन वर्षको छोरीसँग बस्ने गणेश बुधबार दाईको डेरा पुगेका थिए । त्यहीबाट उनी बिहिबार बिहान पाँच बजे नै दाईको डेराबाट निस्किएका थिए। श्रीमती र तीन वर्षकी छोरीका लागि केही कमाइ गर्ने, केही ऋण तिर्ने, अनि छिट्टै दुबई जाने सपना पूरा गर्ने आशा बोकेर। उनको संसार ठूलो थिएन। एउटा मोटरसाइकल थियो, त्यसैमा जोडिएको रोजीरोटी थियो, अनि त्यसैसँग गाँसिएको परिवारको भविष्य।

    तर त्रिपुरेश्वरको राहदानी विभागअगाडि उनको मोटरसाइकलमा महानगरको नगरप्रहरीले ‘ह्वीललक’ लगायो।
    सायद त्यो महानगरका लागि नियम कार्यान्वयनको एउटा नियमित प्रक्रिया थियो। तर गणेशका लागि त्यो केवल एउटा लक थिएन। त्यो उनको भविष्यमा लागेको ताल्चा थियो। त्यो उनको सन्तानको मुखमा लागेको ताला थियो। त्यो उनको गरिबीमाथि थपिएको अर्को सजाय थियो।
    कसैले बुझेन- एउटा विपन्न युवाको जीवनमा एउटा मोटरसाइकलको अर्थ के हुन्छ।

    ०००
    वीर अस्पतालको आकस्मिक कक्षमा शरीर आगोले डढेको थियो, तर चेतनाले अझै केही शब्द सम्हालिरहेको थियो।
    दाइ मदन नेपाली भाइको बेड छेउ पुगे।
    गणेशले धेरै बोल्न सकेनन्।
    ‘बाबा–आमालाई ख्याल गर्नु...’
    त्यसपछि केही बेर रोकिए।
    अनि एउटा वाक्य बोलिदिए-  ‘यो सबै महानगरले गर्दा हो।’
    त्यति भनेपछि उनको आवाज हरायो। घटनापछि ३ वर्ष पनि नपुगेकी छोरी च्यापेर गणेशकी श्रीमती एकमाया हान्निँदै अस्पताल पुगेकी थिइन् । तर अस्पतालको हुलमुलमा उनले आकस्मिक उपचार कक्षभित्र छिरेर श्रीमान्‌लाई भेट्न भने पाइनन् । उनले मोटरसाइकल किस्तामा किनेका थिए । त्यसको किस्ता पनि तिरिसकेका थिएनन । 

    ०००
    मुगुको सोरु गाउँपालिका - १।
    जहाँ खेतीले वर्षभरि पेट भरिँदैन। जहाँ गरिबी जन्मजात साथी हो। जहाँ धेरै युवाको सपना गाउँमा सफल हुने होइन, गाउँ छोडेर कतै बाँच्ने हुन्छ।
    त्यही गाउँबाट गणेश काठमाडौं आएका थिए। कृषि विषयमा स्नातक गरेका थिए। पढाइले जीवन बदल्ने विश्वास गरेका थिए। तर डिग्रीले रोजगारी दिएन। अन्ततः राइड–सेयरिङ एप चलाएर परिवार धान्न थाले।
    देशले सीपलाई काम दिन सकेन।
    कामले सम्मान दिन सकेन।
    सम्मान खोज्दै गर्दा नियमले उनको अन्तिम सहारा पनि खोसिदियो।

    ०००
    २०७९ माघ ११ गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरको तत्कालिन संसद् भवनअगाडि शरीरमा आगो लगाएका थिए।
    त्यतिबेला धेरैले भनेका थिए- यो एउटा व्यक्तिको मृत्यु होइन, राज्यको असफलताको प्रतीक हो।
    त्यसबेला काठमाडौं महानगरका मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाहले पनि लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो। यो राज्यको चरम असफलताको संकेत हो।’
    समय घुम्यो।
    कुर्सी फेरियो।
    भूमिका फेरियो।
    आलोचक शासक बने।
    तर सडकमा उभिएको गरिब नागरिकको नियति फेरिएन।
    आज फेरि एउटा युवा जलिरहेको छ।
    फरक यत्ति मात्र छ- त्यतिबेला राज्यलाई असफल भन्ने व्यक्ति आज स्वयं राज्यको नेतृत्वमा छन्।

    ०००
    कानुन आवश्यक हुन्छ।
    व्यवस्था पनि आवश्यक हुन्छ।
    सडक अनुशासन पनि चाहिन्छ।
    तर राज्यको वास्तविक परीक्षा नियम लागू गर्दा होइन, नियम लागू गर्ने क्रममा मानवीय संवेदना जोगाउन सकिन्छ कि सकिँदैन भन्नेमा हुन्छ।
    कानुनको उद्देश्य जीवन बचाउनु हो कि जीवनलाई निराशाको अन्तिम किनारसम्म धकेल्नु ?
    यो प्रश्न आज गणेशको जलेको शरीरले सोधिरहेको छ।

    ०००
    गणेश अहिले वीर अस्पतालको आईसीयूमा छन्।
    उनको शरीरको धेरै भाग आगोले खाइसकेको छ।
    परिवार उपचार खर्च जुटाउन संघर्ष गरिरहेको छ।
    गाउँमा रहेका वृद्ध आमाबुबा अझै पनि सायद यही सोचिरहेका होलान् -काठमाडौं गएको छोरो कुनै दिन ठूलो मान्छे बनेर फर्किन्छ।
    तर राजधानीले उनलाई सपना होइन, आगो फर्काइदियो।


    ०००
    देशमा गरिब हुनु अपराध होइन भनिन्छ।
    तर व्यवहारमा गरिबी नै सबैभन्दा ठूलो सजाय बनेको छ।
    धनीका लागि नियम छल्ने हजार उपाय हुन्छन्।
    गरिबसँग भने नियम पालना गर्ने सामर्थ्य पनि हुँदैन र नियम तोड्दा तिर्ने मूल्य पनि सबैभन्दा महँगो हुन्छ।
    गणेश नेपालीको कथा केवल एउटा आत्मदाह प्रयासको समाचार होइन।
    यो एउटा यस्तो देशको कथा हो, जहाँ सपना भन्दा नियम बलिया छन्, संवेदना भन्दा प्रक्रिया ठूलो छ, र नागरिकभन्दा संयन्त्र शक्तिशाली।
    प्रेमप्रसाद आचार्यदेखि गणेश नेपालीसम्म आइपुग्दा अनुहार फेरिए, सरकार फेरियो, कुर्सी फेरियो।
    तर गरिबको नियति फेरिएन।
    अझै पनि गरिब मानिस राज्यसँग हारिरहेको छ।
    अझै पनि एउटा सामान्य नागरिकको अन्तिम चिच्याहट आगोको ज्वालाभित्र हराइरहेको छ।
    र सायद इतिहास फेरि त्यही प्रश्न दोहोर्याइरहेको छ-
    आखिर यो आगो गणेशको शरीरमा मात्र लागेको हो, कि हाम्रो राज्यको संवेदनामा पनि ? 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend