काठमाडौं । सन् २०२६ को फिफा विश्वकपअन्तर्गत आज (सोमबार) राति अमेरिकाको ह्युस्टनस्थित एनआरजी स्टेडियममा ब्राजिल र जापानबीच अन्तिम १६ प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
यो खेललाई ब्राजिलको आकर्षक ‘साम्बा’ शैलीको आक्रामक फुटबल र जापानको अनुशासित तथा बलियो रक्षात्मक खेलबीचको रोचक भिडन्तका रूपमा हेरिएको छ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
समूह ‘सी’को विजेताका रूपमा नकआउट चरणमा पुगेको ब्राजिल उच्च आत्मविश्वासमा छ। कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको टोलीले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै आफ्नो दाबेदारी बलियो बनाएको थियो।
ब्राजिलका लागि रियल म्याड्रिडका स्टार विङ्गर विनिसियस जुनियर सबैभन्दा ठूलो आशा बनेका छन्। उनले समूह चरणका तीन खेलमा चार गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्।
प्रशिक्षक एन्सेलोटीले नकआउट चरणमा टोलीले अझ साहसी र आक्रामक खेल प्रदर्शन गर्नुपर्ने बताएका छन्। यद्यपि, राफिन्हाको ह्यामस्ट्रिङ चोट र नेयमारलाई सुरुआती ११ मा समावेश गर्ने वा नगर्ने विषयले टोलीमा केही अन्योल कायम छ।
यता, जापान लगातार १० खेलदेखि अपराजित रहँदै अन्तिम १६ सम्म पुगेको हो। समूह ‘एफ’मा नेदरल्यान्ड्स र स्विडेनजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै दोस्रो स्थान हासिल गरेको जापान आफ्नो उच्च गतिको प्रेसिङ र उत्कृष्ट सामूहिक खेलका कारण चर्चामा छ।
प्रशिक्षक हाजिमे मोरियासुले टोलीको एकता नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्। मध्यपङ्क्तिमा दाइची कामाडाले टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। उनले समूह चरणमा निर्णायक प्रदर्शन गर्दै आफ्नो प्रभाव देखाइसकेका छन्।
यद्यपि, जापानका प्रमुख खेलाडी ताकेफुसा कुबो घुँडाको चोटका कारण मैदानबाहिर रहने सम्भावनाले टोलीलाई केही कमजोर बनाउन सक्छ।
ब्राजिलको स्पष्ट दबदबा
ब्राजिल र जापानबीच हालसम्म १४ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ब्राजिलले ११ खेल जितेको छ भने जापानले केवल एक खेलमा सफलता हात पारेको छ। बाँकी दुई खेल बराबरीमा सकिएका छन्।
तर, सन् २०२५ को अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले पराजित गर्दै सबैलाई चकित पारेको थियो। त्यसैले यसपटक पनि जापान अर्को ठूलो उलटफेर गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
विजेताले कसको सामना गर्ने?
यस खेलको विजेताले क्वाटरफाइनल प्रवेशका लागि नर्वे र आइभोरी कोस्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
जापानका लागि यो खेल ऐतिहासिक अवसर पनि हो। किनभने उसले अहिलेसम्म विश्वकपको अन्तिम १६ को बाधा पार गर्न सकेको छैन। अर्कोतर्फ, छैटौँ विश्वकप उपाधिको खोजीमा रहेको ब्राजिल आफ्नो उपाधि अभियानलाई निरन्तरता दिन चाहन्छ।
दुवै टोलीका फरक शैली, उत्कृष्ट लय र उच्च दाउका कारण आजको खेल विश्वकपकै सबैभन्दा रोमाञ्चक नकआउट प्रतिसिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ।
.jpg)
