काठमाडौं । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनले देशको राजनीतिक चित्र नै फेरिदिएको छ । वर्षौंदेखि सत्तामा आलोपालो गर्दै आएका परम्परागत कांग्रेस, एमाले र नेकपा जस्ता दलप्रतिको बढ्दो निराशाबीच मतदाताले नयाँ विकल्प खोजे । र त्यो विकल्प बन्यो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।
झण्डै दुई तिहाइ नजिकको प्रभावशाली उपस्थितिसहित रास्वपा उदाउँदा स्थापित दलहरूमा तरंग मात्रै होइन, असहजता पनि देखिएको छ। तर यो परिणामलाई जनताको असन्तुष्टि र परिवर्तनको चाहनाका रूपमा बुझ्नेभन्दा पनि केही पुराना कम्युनिष्ट नेताहरू फेरि पुरानै ‘व्याख्या’मा फर्किएका छन् - दोष आफ्नै कमजोरीमा होइन, विदेशी शक्तिमा खोज्ने।
नेपालका कम्युनिष्टहरू अक्सर आफ्ना कमजोरी स्वीकार्न तयार हुन्नन् । सानातिना स्वार्थका कारण पार्टीहरू टुक्रिन्छन्, दलहरू फुट्छन्। चुनावमा हार, आन्दोलनमा असफलता, वा कुनै विवाद उठ्दा दोष सदैव ‘अरूमा’ खोजिन्छ । विदेशी शक्ति, विस्तारवादी राष्ट्र, वा अमेरिकी साम्राज्यवाद। आफ्नै कमजोरी, रणनीतिक भूल, वा नेतृत्वगत त्रुटि स्वीकारेर समीक्षा गर्ने तिर कम्युनिष्टहरू प्रायः हिंड्दैनन्।
यो प्रवृत्ति नयाँ होइन। विगतमा पनि कम्युनिष्टहरूले विदेश वा साम्राज्यवादी शक्ति देखाएर आफ्ना कमजोरी पन्छाउने गरेका थिए । यसपटक पनि त्यस्तै आरोप कम्युनिष्ट पार्टीहरुले लगाउन थालेका छन् । निर्वाचन परिणामपछि त्यसको समीक्षा गर्न बसेको नेकपा (मसाल) र उसको खुल्ला मोर्चा राष्टिय जनमोर्चाले गरेको समीक्षा हेर्दा कम्युनिष्टहरु फेरि पूरानै शैलीमा उत्रेका छन् । नेकपा (मसाल)को गढ मानिएको बागलुङ, प्यूठान जस्ता जिल्लाहरुमा यसपटक उनीहरुको गढ रहेन ।
यी क्षेत्रहरुमा पनि बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्का र २ मा रास्वपाकै सोम शर्मा विजयी बनेका थिए । यहाँ नेकपा (मसाल)को लामो समयदेखिको विरासत रहँदै आएको थियो । तर यसपटक दुवै क्षेत्रमा रास्वपाले जितेपछि नेकपा (मसाल) लाई धक्का लागेको छ । चुनावी परिणामपछि बसेको नेकपा (मसाल) केन्द्रीय समिति बैठकले दोष आफुमा नखोजी अरुमा खोजेको हो ।
‘सीआईएले घण्टीमा भोट हाल्न लगायो’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त यो बहसलाई अझै चर्को बनाएका छन्। उनले विदेशमा रहेका नेपालीलाई अमेरिकी गुप्तचर संस्था सीआईएले नियन्त्रणमा लिएर रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा भोट हाल्न बाध्य पारेको दाबी गरेका छन्। दुई दिन बसेको नेकपा (मसाल)को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विदेशमा जहाँजहाँ नेपाली छन्, उनीहरूलाई सीआईएले कब्जा गरेको छ। उनीहरूले आफ्ना आमाबाबुलाई ‘घण्टीमा भोट हाल, होइन भने म घर आउँदिन’ भन्न लगाइएको छ।”
उनको यो अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा र व्यङ्ग्य सुरु भएको छ।
केसीले यतिमात्र होइन, नेपालमा आएको चुनावी परिणामलाई चीनविरुद्धको अमेरिकी रणनीतिसँग जोड्दै दलाई लामासम्मको प्रसंग निकाले। उनले थप अगाडी बढेर भने, “अमेरिकाले नेपालमा आफूअनुकूल शक्ति ल्याउन यस्तो खेल खेलेको हो।”
मोहनविक्रमको विश्लेषण पनि उही ‘अमेरिकी डिजाइन’
केसीको दाबीलाई थप बल पुग्ने गरी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि चुनावलाई “जनताको वास्तविक मत होइन” भन्दै अमेरिकी रणनीतिअनुसार तयार गरिएको परिणामको संज्ञा दिएका छन्। उनले संसद् विघटनदेखि मध्यावधि निर्वाचनसम्मको प्रक्रियालाई योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्दै त्यसले “कठपुतली सरकार” निर्माणको आधार तयार गरेको टिप्पणी गरेका छन्।
उनका अनुसार, रास्वपा नेतृत्वमा सरकार बनेपछि अब देशमा सुशासन होइन, बरु अराजकता र दण्डहीनता बढ्नेछ। मोहनविक्रम देखि चित्रबहादुर केसी सम्मका वामपन्थी नेताहरूले निर्वाचन परिणामलाई विदेशी हस्तक्षेपसँग जोड्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। तर देशको राजनीतिक यथार्थले फरक कथा भन्छ। पछिल्ला केही वर्षमा सरकारको अस्थिरता, भ्रष्टाचारका निरन्तर आरोप, सेवा प्रवाहमा कमजोरी, नेतृत्वप्रति घट्दो विश्वास जस्ता कारणले मतदाता दिक्क बनेका थिए।
यही पृष्ठभूमिमा नयाँ, वैकल्पिक र ‘पुराना दलभन्दा फरक’ देखिने शक्तिप्रति आकर्षण बढ्नु स्वाभाविक थियो। रास्वपाको उदयलाई धेरैले यही असन्तुष्टिको प्रत्यक्ष परिणामका रूपमा विश्लेषण गरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार, यो परिणाम कुनै बाह्य शक्तिको खेलभन्दा पनि प्रमुख राजनीतिक शक्तिहरु कांग्रेस, एमाले र नेकपाभित्रको आन्तरिक किचलो, सत्ता झिनाझप्टी लगायतका कारणको प्रतिफल हो। तर अझै पनि आफनो चुनावी समीक्षामा नेपालका कम्युनिष्टहरु यसलाई स्वीकार गर्न तयार देखिन्नन् ।
पुरानै रोग : हार्दा ‘विदेशी हात’
नेपालको कम्युनिष्ट राजनीतिमा एउटा प्रवृत्ति लामो समयदेखि देखिँदै आएको छ- हार्दा वा कमजोर हुँदा बाह्य शक्तिलाई दोष दिने। अहिले पनि त्यही दोहोरिएको देखिन्छ। आफ्नो संगठनात्मक कमजोरी, जनतासँगको दूरी वा नीति असफलताको समीक्षा गर्नेभन्दा “अमेरिकी डिजाइन”, “सीआईएको भूमिका”, “षड्यन्त्र” जस्ता शब्द प्रयोग गरेर परिणामलाई व्याख्या गर्ने प्रयास भइरहेको छ।
कतिपयका अनुसार, यो आत्मसमीक्षाबाट बच्ने सजिलो उपाय मात्र हो। एक राजनीतिक विश्लेषक भन्छन्, “जनताले किन मत बदले भन्ने प्रश्नको जवाफ खोज्नुको सट्टा बाह्य शक्ति खोज्नु भनेको वास्तविकता स्वीकार नगर्नु हो।”
.jpg)
