इरानी शीर्ष नेताबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिने अमेरिकाको घोषणा

इरानी शीर्ष नेताबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिने अमेरिकाको घोषणा

images
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौँ । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईसहित इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का वरिष्ठ नेताहरूको गतिविधिबारे सूचना दिनेलाई १ करोड अमेरिकी डलरसम्मको इनाम दिने घोषणा गरेको छ।

    अमेरिकी विदेश मन्त्रालयले ‘रिवार्ड्स फर जस्टिस’ अन्तर्गत सार्वजनिक गरेको सूचनामा आईआरजीसीका उच्च पदस्थ नेताहरूको गतिविधि, नेटवर्क र योजनाबारे विश्वसनीय जानकारी उपलब्ध गराउने व्यक्तिलाई आर्थिक पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।

    अमेरिकी विदेश मन्त्रालयले ती व्यक्तिहरूले विश्वभर आतंकवादी गतिविधिको योजना, संगठन र सञ्चालन गर्ने आईआरजीसीका विभिन्न संरचनालाई निर्देशन र नियन्त्रण गर्न भूमिका खेलेको आरोप लगाएको छ। मन्त्रालयले सम्भावित सूचनादातालाई सुरक्षित माध्यममार्फत जानकारी दिन आग्रह गरेको छ। त्यसका लागि विशेष टिपलाइन वा ‘‘सिग्नल’ जस्ता इन्क्रिप्टेड प्लेटफर्म प्रयोग गर्न सकिने बताइएको छ।

    सूचीमा को–को छन् ?
    अमेरिकाले सार्वजनिक गरेको सूचीमा १० जना इरानी अधिकारी समावेश गरिएको बताइएको छ। तीमध्ये प्रमुख नामहरू यसप्रकार छन् :-
    - मोजतबा खामेनेई, इरानका सर्वोच्च नेता
    - अली असगर हेजाजी, सर्वोच्च नेताको कार्यालयका उपप्रमुख
    - मेजर जनरल यह्या रहिम सफावी , सैन्य सल्लाहकार
    - अली लारिजानी , सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा सल्लाहकार
    - ब्रिगेडियर जनरल इस्कन्दर मोमेनी , गृहमन्त्री
    - इस्माइल खातिब, गुप्तचर तथा सुरक्षा मन्त्री
    - रक्षा परिषद्का सचिव, सर्वोच्च नेताका अन्य सल्लाहकार तथा आईआरजीसीका केही कमान्डरहरू


    क्षेत्रीय तनावबीच घोषणा
    यो घोषणा अमेरिका र इजरायलले हालै इरानका विभिन्न लक्ष्यहरूमा गरेको सैन्य आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेको समयमा आएको हो।
    गत फेब्रुअरी २८ मा भएको विस्फोटमा इरानका सर्वोच्च नेता अली खामेनेई मारिएपछि उनका छोरा मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त भएका थिए। उनी गत सोमबार औपचारिक रूपमा पदमा पुगे पनि सार्वजनिक रूपमा भने अझै देखिएका छैनन्।


    इरानी सरकारी टेलिभिजनले बिहीबार प्रसारण गरेको कार्यक्रममा एक प्रस्तोताले नयाँ सर्वोच्च नेता खामेनेईको सन्देश पढेर सुनाएका थिए। उक्त सन्देशमा उनले “रगतको बदला रगतले लिने” चेतावनी दिँदै स्ट्रेट अफ हर्मुज बन्द गर्ने नीति कायम रहने बताएका थिए।


    यसैबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनी हालैको हमलामा घाइते भएको दाबी पनि गरेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इसराइलले गरेको संयुक्त आक्रमणमा उनको खुट्टा भाँचिएको तथा अनुहारमा चोट लागेको समाचार बाहिरिएका छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend