शित्तल शर्मा / काठमाडौं
कपिलवस्तुको एउटा गाउँ ।
जहाँ बाल्यकाल खेल, हाँसो र सपनाले होइन- डर, अभाव र सामन्ती अत्याचारले भरिएको थियो ।
त्यहीँ जन्मिएकी थिइन्- कौशर जहाँ ।
आज राजनीतिक वृत्तमा उनी चिनिन्छिन्- सकिना मुस्लिम का नामले ।
र जनयुद्धका दिनहरूमा- रविना खान ।
उनको जीवन कुनै साधारण राजनीतिक यात्राको कथा होइन ।
यो कथा हो- आफ्नै समुदायका सामाजिक पर्खाल नाघेकी एउटी मुस्लिम छोरीको, जो कलिलो उमेरमै बन्दुक बोकेर राज्यसँग जुधिन्, र आज संसद् छिर्ने ऐतिहासिक मोडमा उभिएकी छिन् ।
८–९ वर्षे उमेरमै बगावतको बीउ
कौशर जहाँको बाल्यकाल सहज थिएन । उनी जहाँ जन्मिन त्यहाँ छोरीहरूलाई बोल्नुअघि सोच्न सिकाइन्थ्यो, प्रश्न गर्नुअघि डर । जहाँ धर्म, गरिबी र पितृसत्ताको एउटै डोरीले जीवन बाँधिदिन्थ्यो। स्थानीय सामन्ती जमिन्दारको उत्पीडन, गरिबी, अपमान र अन्याय यी सबै उनले सानै उमेरमा देखिन्, भोगिन् । ८–९ वर्षको उमेरमै उनले बुझ्न थालिन् - समाज सबैका लागि बराबर छैन ।
त्यही बुझाइले उनको मनमा विद्रोहको बीउ रोप्यो । माओवादी विचारधारा, जनवादी विचारधाराको स्पर्शले उनलाई घर, परिवार र सुरक्षित घेराभन्दा बाहिर तान्यो । एक दिन आयो, जहाँ उनले आफ्ना बा–आमा, आफ्नो नाम, आफ्नो पहिचान सबैलाई पछि छोडेर तत्कालिन माओवादी विद्रोह रोजिन । जनमुक्ति सेनाको पल्टन रोजिन् । उनका लागि बन्दुक शक्ति होइन, अस्तित्वको भाष्य थियो। ‘त्यतिबेला हामीलाई लाग्थ्यो, बन्दुकले मात्रै व्यवस्था बदलिन्छ,’ सकिना आज पनि आत्मविश्वासका साथ भन्छिन्।
मुस्लिम छोरी, छापामार योद्धा
त्यो समय थियो- २०५८ साल । देश सशस्त्र द्वन्द्वको भुमरीमा थियो । मुस्लिम समुदायबाट विद्रोहमा निस्कने महिलाहरू औँलामा गन्न सकिने जति पनि थिएनन् । तर रविना खानले त्यो घेरालाई चिरेकी थिइन् । ‘हाम्रो समुदायमा महिलाले सोच्न पाउने सीमासमेत तय गरिन्थ्यो, त्यो समय त्यस्तो थियो’
उनी अहिले सम्झिन्छिन्, ‘तर मैले त्यो सीमाभन्दा बाहिर जाने निर्णय गरेँ । जनयुद्दमा आफुलाई समाहित गर्ने बाटो रोजेँ ।’
तत्कालीन माओवादी अगुवा किरण डिसीको प्रेरणामा उनी जनमुक्ति सेनामा भर्ती भइन् । गोरखा, गण्डक, पोखरा, सिन्धुली, चितवन देशका विभिन्न भूगोलमा उनी बन्दुक बोकेर हिँडिन् । कतिपय भिडन्तमा उनी फ्रन्टलाइनमै थिइन् । तत्कालिन शाही नेपाली सेनासँग आमुन्ने–सामुन्ने युद्ध गर्दा ज्यान हत्केलामा राखेर हिँडेको अनुभूति उनको जीवनको नियमित हिस्सा बन्यो ।
डरभन्दा बलियो सपना
उनी भन्छिन्, ‘त्यतिबेला हामी बन्दुकले सत्ता परिवर्तन गर्न सकिन्छ भन्ने सपनामा बाँचेका थियौँ ।’ डर त थियो, मृत्युले हरेक पाइला पछ्याइरहेको हुन्थ्यो । तर त्यो डरभन्दा ठूलो थियो परिवर्तनको सपना । यही सपनाले उनी जलेको आगोझैँ कठिन यात्रामा अघि बढिरहिन् ।
उनी जस्तै हजारौं माओवादीहरुको त्याग, बलिदान, संर्घषले गणतन्त्र स्थापित भयो । पछाडी पारिएका समुदाय आफनो अधिकारका लागि आवाज दिन सक्ने भए । समानुपातिक- समावेशिता आयो । पिधमा रहेका जनसमुदायले ढुक्कले बोल्न सक्ने भए । त्यसमा उनको देन छ ।
शान्ति आयो, तर अवसर आएन
२०६३ मंसिर ५ । तत्कालिन विद्रोही माओवादी र तत्कालिन सरकारका बीचमा विस्तृत शान्ति सम्झौता भयो । माओवादीले १० वर्षसम्म चलाएको बन्दुक थन्कियो । जनयुद्ध शान्ति प्रक्रियामा बदलियो ।
तर रविनाको जीवनमा शान्ति आए पनि राजनीतिक अवसर आएको थिएन । माओवादी पार्टीमा विभाजनहरु आयो । प्रचण्डको नेतृत्वमा रहेको पार्टी नाम पनि बद्लिँदै गयो । नेकपा (माओवादी), एकीकृत माओवादी, माओवादी केन्द्र, एमालेसँगको एकता, नेपाल कम्युनिस्ट पार्टी, फेरि नेकपा (माओवादी केन्द्र) र अहिले नेपाली कम्युनिस्ट पार्टी ।
तर नाम जति फेरिए, उनले पार्टी र आन्दोलनमा गरेको योगदानको मूल्याङ्कन त्यति भइरहेको थिएन । सशस्त्र संघर्षमा अग्रपंक्तिमा रहेकी एउटी मुस्लिम महिला योद्धा राजनीतिक लाभबाट बारम्बार पन्छाइइन् । किन महिलाले युद्ध लड्छन्, तर सत्ता पाउँदैनन् ? किन अल्पसंख्यक समुदाय समानुपातिक सूचीमा पनि प्रतीकात्मक बनाइन्छ ? किन क्रान्तिका अग्रमोर्चाका अनुहार शान्तिकालमा ओझेलमा पर्छन् ? सकिनाको कथा व्यक्तिगत मात्र थिएन । यो महिला राजनीति, अल्पसंख्यक प्रतिनिधित्व र पूर्वलडाकुहरूको राजनीतिक न्याय तीनवटैको साझा प्रश्न थियो ।
२०८२ : आशाको किरण
समयले लामो घुम्ती काट्यो । २०८२ साल आइपुग्दा उनको जीवनमा पहिलो पटक आशाको उज्यालो झुल्कियो । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अन्य दलको तुलनामा विवादरहित समानुपातिक सूची बुझायो । त्यो सूचीमा मुस्लिम महिलातर्फ पहिलो नम्बरमा सकिना मुस्लिमको नाम थियो ।
यो केवल एउटा नाम थिएन । यो थियो- २५ वर्ष लामो संघर्षको औपचारिक स्वीकारोक्ति । समय आउँछ कुर्न जान्नुपर्छ भन्ने उदाहरण आफैं उनी बनेर आइन् । पार्टीले उनको विगतको त्यो बलिदान, संर्घषको मूल्यांकन झण्डै- झण्डै आशै मारिसक्दा फेरि उज्यालो बनाएर ब्यूताईदिएको छ । उनको नाम सूचीमा परेपछि खुसीसँगै सावधानीको स्वर पनि उठ्यो । उनलाई राजनीतिमा ल्याउने पुराना सहयात्रीहरू आज चेतावनी दिइरहेका छन्, ‘कतै फेरि जालझेल नहोस् ।’ तत्कालीन माओवादी कमाण्डर मेखराज भन्छन्, ‘सानै उमेरमा विद्रोह गरेकी मुस्लिम समुदायकी बहादुर छोरीको योगदानको कदर भएको सुन्दा खुसी लाग्यो ।’
सकिना मुस्लिम : प्रतीकको राजनीति
सकिना मुस्लिम केवल एक उम्मेदवार होइनन् । उनी प्रतीक हुन्न्, मुस्लिम महिलाको, सशस्त्र संघर्षबाट आएको राजनीतिक चेतनाको, उपेक्षित र सीमान्तकृत समुदायको आवाजको । सकिना आफूलाई मुस्लिम समुदायकी नेतृ मात्र मान्दिनन्। उनको राजनीति उपेक्षित, उत्पीडित, पिँधमा पारिएका सबैका लागि हो। ‘मैले संघर्ष कुनै एक समुदायका लागि मात्र गरेकी थिइनँ,’ उनी भन्छिन्, ‘म न्यायको पक्षमा उभिएकी थिएँ।’
यदि उनी संसद् पुग्छिन् भने त्यो केवल उनको जित हुनेछैन । त्यो जित हुनेछ कपिलवस्तुको पीडित बाल्यकालको, जनयुद्धका अँध्यारा दिनहरूको र अवसरबाट वञ्चित हजारौँ संघर्षशील अनुहारहरूको ।
अब प्रश्न छ के पार्टी नेतृत्वले बिना विभेद, बिना चलखेल उनको उम्मेदवारीलाई अन्तिमसम्म जोगाउँछ ? अनि के उनलाई न्याय गर्न खोजेको तत्कालिन माओवादी अर्थात हालको नेपाली कम्युनिष्ट पार्टीलाई जनताले मतदानबाट रोज्नेछन् ? के जनयुद्धबाट खारिएकी एउटी अल्पसंख्यक मुस्लिम महिलालाई संसद्को ढोकासम्म पु¥याइन्छ ?
यदि त्यसो भयो भने-
सकिना मुस्लिमको सपथ
केवल एउटा औपचारिकता हुनेछैन । त्यो हुनेछ नेपालको राजनीतिक इतिहासमा एउटी मुस्लिम छोरीले लेखेको नयाँ अध्याय ।
.jpg)
