काठमाडौं । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् । ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।
कम्पनीले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियमलगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण आएको समस्या भनेको छ ।
भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ ।
उडान अवरूद्ध भएपछि बिहीबार हजारौँ यात्रु तथा उनीहरूका आफन्तले आफ्नो रिस सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै एक्समा आठ घण्टासम्म ढिलाइ हुँदासमेत ‘कुनै कर्मचारी’ सहयोगका लागि नआएको र विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ बनेको बताए ।
बुधबारसम्म इन्डिगोका एक हजार २३२ उडान रद्द गरिएको कम्पनीले जनाएको छ । तर कति विमानको उडानमा ढिलाइ भयो भन्नेबारे कुनै सङ्ख्या स्पष्ट छैन ।
इन्डिगोले आफ्ना ग्राहकहरुलाई वैकल्पिक यात्रा व्यवस्था र फिर्ती प्रदान गरिरहेको जनाएको छ ।
.jpg)
