मधेश प्रदेशको सत्ता-कथामा एक मोड

होटलमा शपथको स्क्यान्डलपछि मधेशमा नयाँ प्रदेश प्रमुख

होटलमा शपथको स्क्यान्डलपछि मधेशमा नयाँ प्रदेश प्रमुख

पदीय मर्यादा भुल्दा भण्डारी ‘आउट’, संवैधानिक सन्तुलन फर्काउने अपेक्षासहित सुरेन्द्र लाभ ‘इन’

images
सोमवार, कार्तिक २५ २०८२
  • काठमाडौं । मधेश प्रदेशको राजनीतिक आकाश यो साता अनौठो नाट्यस्थल जस्तै बन्यो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले सोचेका पनि थिएनन, २५ दिनमै आफनो सरकार ढल्छ, सत्ता सहयात्री दल माओवादी केन्द्रका दुई सांसदले विद्रोह गर्छन् र प्रदेश प्रमुखले नाटकीय शैलीमा होटलको कोठामा आफना् निकट एमाले प्रदेश सभा दल नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउादै सपथ खुवाउँछन् । 


    परिदृश्य त्यस्तै देखियो । एउटा होटलको कोठामा गरिएको ‘शपथ’, प्रदेशसभाभित्र नघुस्दै गरिएको सत्ता–हस्तान्तरण, र त्यसपछि संघीय सरकारले प्रदेश प्रमुखलाई हटाउने निर्णय गदै नयाा प्रदेश प्रमुख सिफारिससम्मका घटनाले मधेसको राजनीति तात्तिएको छ । 

    सोमबार मन्त्रीपरिषद्को बैठकले बर्दिवासको होटलमा पदीय मर्यादा भुल्दै गरेको राजनीतिक चलखेलले अन्ततः प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अध्याय बन्द गरिदियो । ठीक त्यसैसँग, सुरेन्द्र लाभलाई  नयाँ प्रदेश प्रमुखको रूपमा सिफारिस गर्ने निर्णय गरेको छ ।

    यो परिवर्तन केवल व्यक्तिको आवतजावत मात्र होइन; संविधान, पदीय मर्यादा र राजनीतिक उद्देश्यबीचको घर्षण हो । त्यसैले यो घटनालाई नजिकबाट नियाल्ने हो भने निकै गहिरा देखिन्छन् ।

    होटलको कोठामा लिएको शपथ, र गुमेको पद
    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, एक समय एमालेको विश्वस्त नेतृको रूपमा स्थापित थिइन् । ओली सरकारकै पालामा प्रदेशको सम्मानित प्रमुख बनेकी थिइन् । तर सम्मानित भनिने पदलाई ‘स्थान’ र ‘विधि’ले पनि सम्मान दिनुपर्ने हुन्छ । उनले त्यो सिमाना भंग गरिन् ।

    मधेश प्रदेशमा सरकारको बहुमत खोज्ने कूटनीति चलिरहेको थियो । गठबन्धनले संयुक्त सरकार बनाउन सक्ने अवस्था थिएन भन्ने तर्क एमाले पक्षमा थियो । तर सात दलको बहुमत खोज्ने तयारी पनि जारी थियो । यिनैबीच निवर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै राजीनामा दिए, र त्यसपछि के हुने ? यही ठाउँमा संविधानले दोहोरो बाटो देखाउँछ ।

    Pradesh_pramukha-cm-NIyukti_11zon.jpg
    सरकारले हटाएका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतालाई होटलमा नियुक्त गदै

    एकातिर धारा १६८(२) ले नयाँ बहुमत गठबन्धनलाई दाबी गर्ने अवसर र अर्कोतिर धारा १६८(३) ले सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउने बाटो । 

    यही विवाद अड्किरहँदा प्रदेश प्रमुखका रुपमा भण्डारीले संविधानको धारा १६८(३) बाटो भन्दै एमालेका सरोजकुमार यादवलाई बर्दिबासको एक होटलमा नै मुख्यमन्त्री नियुक्त गराएर शपथ गराइन् ।

    यो केवल विधि–विपरीत मात्र होइन, पदीय गरिमा को सिमाना छेडिएको दृश्य बन्यो । प्रदेश प्रमुखको कार्यालय, विधिको औपचारिकता सबै बाईपास गरिन् । त्यसपछि प्रश्न उब्जियो, प्रदेश प्रमुखको पदको गरिमा यस्तो हो ? अन्ततः मन्त्रिपरिषद् बैठक बस्यो र उनको अध्याय त्यहीं पूर्णविराम लाग्यो ।

    त्यसपछि सरकारले सुरेन्द्र लाभलाई प्रदेश प्रमुखका रुपमा सिफारिसको निर्णय लियो । सरकारले मधेश प्रदेशको नेतृत्वसहित संवैधानिक संवेदनशीलता सन्तुलन गर्न सुरेन्द्र लाभलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।

    उनी अर्थशास्त्रमा पीएचडी गरेका ब्यक्ति हुन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, जनकपुरको शैक्षिक र सामाजिक विमर्शमा बलियो भूमिका भएको र मधेश समाजको संरचनात्मक, ऐतिहासिक र पहिचानगत प्रश्नमा स्पष्ट मत राख्ने व्यक्ति हुन् । उनको आगमनसँगै एउटा अपेक्षा जन्मिएको छ, प्रदेश प्रमुख केवल ‘पद’ होइन, ‘संविधानको विवेक’ हो भन्ने कुरा व्यवहारले देखाउनुपर्ने ।


    लाभ गैरविवादास्पद छवि र विश्लेषणशील भूमिकामा चिनिन्छन् । उनको पहिलो चुनौती राजनीतिक समीकरण मिलाउने होइन, संवैधानिक प्रक्रियामा विश्वास पुनःस्थापित गर्ने हुनेछ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend