काठमाडौँको एउटा साधारण कोठा । भित्तामा माक्र्स र माओका चित्र झुण्डिएका छन् । टेबुलमाथि पुराना नोटबुकहरू, केही पुस्तक, र एउटा पुरानो मोवाइल । यही कोठाबाट ८० वर्षको उमेरमा मोहन वैद्य ‘किरण’ले घोषणा गरे- ‘अब पार्टीको नेतृत्व नयाँ पुस्ता (अर्काे ब्यक्ति)ले गर्नुपर्छ ।’
राजनीतिक संसार जहाँ अधिकांश नेताहरू पद, शक्ति र विशेषाधिकारसँग टाँस्सिएर बस्न रुचाउँछन्, त्यहाँ वैद्यको यो वाक्य सुनिँदा असाधारण लाग्छ । त्यो केवल राजीनामा थिएन- त्यो राजनीतिक संस्कृतिको एउटा नैतिक उद्घोष थियो ।
राजनीति र चरित्रबीचको दूरी
नेपालको राजनीति चरित्रको होइन, अवसरको खेल बनेको छ । पार्टीभित्र पद बाँडफाँड, सत्तामा प्रवेशका लागि गठबन्धन, सिद्धान्तभन्दा सीट र मन्त्रालयको हिसाब–किताब यी नै दिनचर्या बनेका छन् । यी सवै खेलबाट बैद्य र उनको पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी अलग छ । मूलधारको राजनीतिबाट अलग अझै क्रान्ति अपूर्ण रहेको भन्दै उनको पार्टी संसदीय राजनीतिभन्दा टाढा छ ।
अझ कम्युनिष्ट पार्टीमा नेतृत्व छोड्न नचाह्ने मूल प्रवृत्ति एमालेमा केपी ओली र माओवादीमा पुष्पकमल दाहाल (प्रचण्ड)लाई हेर्दा देखिन्छ । ५४ वर्ष देखि एमाले अध्यक्ष केपी ओली पार्टी केन्द्रीय कमिटिमा छन् । दुई कार्यकाल अध्यक्ष भईसक्दा र जेनजी पुस्ताको आन्दोलनले सवैभन्दा उठ्नै नसक्नेगरी विस्थापित गरेका केपी ओली अझै नेतृत्वको लालचीमा छन् ।
४ दशक देखि माओवादीमा प्रचण्ड पार्टी नेतृत्वमा छन् । वैद्यले नै २०४६ अगाडी प्रचण्डलाई नेतृत्व छोडेयता उनी अहिलेसम्म नेतृत्वमै छन् । यस्तो बेला प्रचण्ड, ओली भन्दा बैद्य फरक देखिएका छन् । कहिलेकाहीँ यस्ता पात्रहरू पनि देखिन्छन्, जसले राजनीतिलाई शक्ति होइन, सिद्धान्तको यात्राको रूपमा लिन्छन् ।
मोहन वैद्य त्यही दुर्लभ किसिमका पात्र हुन् - जसले राजनीति भनेको पद पाउने माध्यम होइन, समाज परिवर्तनको व्रत हो भन्ने विचार जीवनभर अभ्यास गरे ।
विद्रोही छात्रदेखि भूमिगत नेता
वैद्यको राजनीतिक यात्रा विद्यार्थी कालमै सुरु भएको हो । प्यूठानमा जन्मिएर दाङमा झरेर पढ्दै गर्दा उनले २०१७ सालको राणा पतनपछि सुरु भएको राजनीतिक आन्दोलनलाई नजिकबाट नियाले । त्यसबेला उनी ‘बिप्लव’ भन्दा पहिलेका वास्तविक बिप्लव थिए- विचार र विद्रोहका प्रतीक ।
नेपाली कम्युनिष्ट आन्दोलन त्यसबेला भ्रुण अवस्थामा थियो । मोहन वैद्यले युवावस्थामै माक्र्सवाद, लेनिनवाद र माओवाद अध्ययन गरे । उनले वर्गसंघर्षलाई नेपाली समाजको मुटुमा राखेर बुझ्ने प्रयास गरे । यही अध्ययन र प्रतिबद्धताले उनलाई चाँडै भूमिगत राजनीतिमा तान्यो ।
७० र ८० को दशकमा ‘किरण’ नामले परिचित वैद्य नेपाली कम्युनिष्ट आन्दोलनका सैद्धान्तिक निर्माता बने । उनी बोल्दा शब्दहरू भन्दा पनि विचारहरू गुँजिन्थे- संयमित, तर दृढ स्वरमा ।
वैचारिक सर्जक र ‘हिमाली दर्शन’
राजनीतिका कठोर गल्लीहरूमा हिँड्ने वैद्य बाको अर्को अनुहार पनि छ- दार्शनिक र साहित्यकार । उनले लेखेको ‘हिमाली दर्शन’ नेपाली राजनीतिक साहित्यमा दुर्लभ ग्रन्थ हो । त्यो केवल विचारको दस्तावेज होइन, ‘नेपालको सामाजिक रूपान्तरण कुन बाटोबाट सम्भव छ?’ भन्ने गहिरो प्रश्नको खोज हो । वैद्यले बारम्बार भनेका छन्, ‘राजनीति पनि सौन्दर्य हो, यदि त्यो मानव मुक्ति र समानताका लागि हो भने ।’
त्यसैले उनी राजनीतिमा ‘किरण’ हुन्- प्रकाशका प्रतीक, र साहित्यमा ‘चैतन्य’- चेतनाका प्रतीक ।
प्रचण्डसँगको सम्बन्ध र विभाजनको कथा
वैद्य र प्रचण्डबीचको सम्बन्ध नेपाली कम्युनिष्ट आन्दोलनकै सबभन्दा नाटकीय अध्याय हो । प्रचण्ड र वैद्य सुरुआतमा एकै कम्युनिष्ट समूहमा थिए । २०४६ साल अगाडी नै तत्कालिन नेकपा (मशाल) जहाँ बैद्य पार्टीको महासचिव र प्रचण्ड पार्टी नेता मात्र थिए । त्यसवेला पार्टीभित्र ‘सेक्टर काण्ड’ मच्चियो । जसले आन्दोलनमा अविश्वास र अव्यवस्था ल्यायो-पछि वैद्यले संगठनिक जिम्मेवारी छोडे र प्रचण्डलाई नेतृत्व प्रस्ताव गरे ।
प्रचण्डकै नेतृत्वमा बैद्य, डा बाबुराम भटटराई लगायतले २०५२ मा दीर्घकालिन जनयुद्दको उद्घोष गरे । वैद्य त्यतिबेलादेखि ‘विचारमा दृढ, तर सत्ता–प्राप्तिमा असमर्थ’ पात्र बने ।
जनयुद्ध सुरु हुँदा पनि वैद्य पार्टीको सैद्धान्तिक थाम थिए । तर युद्ध सकिएपछि, शान्ति प्रक्रियामा प्रवेशसँगै, प्रचण्ड र वैद्यबीच दूरी बढ्यो ।
वैद्यले ‘संघीय लोकतान्त्रिक÷गणतान्त्रिक गणराज्य’ भन्दा अघि ‘जनताको जनवाद’ मा जोड दिए ।
अन्ततः २०६९ सालमा पार्टी विभाजन भयो— माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) । तर वैद्यले त्यो विभाजनलाई व्यक्तिगत प्रतिशोधको रूपमा होइन, सैद्धान्तिक असहमतिको अपरिहार्य परिणाम माने ।
सत्ता भन्दा सिद्धान्त
वैद्यको जीवनभर एउटा कुरा स्थिर रह्यो- सत्ता भन्दा सिद्धान्त । जब उनका सहकर्मीहरू प्रधानमन्त्री, मन्त्री र सांसद बने, उनी भने सानो कोठामा बस्दै किताब र नोटबुकसँग समय बिताइरहे । उनको जीवनशैली साधारण, व्यवहार विनम्र, तर सोच गहिरो थियो ।
उनीसँग गुनासो गर्नेहरू पनि भन्छन्, ‘वैद्य बा सोचमा ठूला छन्, तर व्यवहारमा पुराना ।’ साँचो हो- उनले संगठन विस्तारमा आधुनिकता अपनाउन सकेनन् । उनका विचार जनतासम्म भाषामा अनुवाद हुन सकेनन् । तर त्यसले उनको नैतिक मूल्य घटाउँदैन । बरु यसले उनी ‘सत्ता–प्रेमी नेताको भीडमा सिद्धान्त–प्रेमी पात्र’ भएको प्रमाण दिन्छ ।
उनले नेतृत्व गरेको पार्टीले कहिले चुनाव वहिष्कारको नीति लियो, कहिले के । तर उनले आफनो जीवन रहेसम्म संसदीय राजनीतिमा नलाग्ने वचनमा अडिग रहे ।
राजीनामाको नैतिक क्षण
२०८२ सालमा ८० वर्ष पुगेका वैद्यले पार्टीको महासचिव पदबाट राजीनामा दिए । त्यो क्षण केवल ‘एक पदको अन्त्य’ थिएन- त्यो राजनीतिक संस्कृतिको पुनर्जागरण थियो।
नेपालका अन्य कम्युनिष्ट नेताहरू- मोहन विक्रम सिंहदेखि प्रचण्ड, ओली र माधव नेपालसम्म दशकौं एउटै कुर्सीमा अडिएका छन् ।
तर वैद्यले भने, ‘अब नयाँ पुस्ताले मार्गदर्शन गर्नुपर्छ ।’ त्यो वाक्य सुन्दा पुराना कार्यकर्ताहरूमा मलिन अनुहार देखिन्थ्यो । किनभने त्यस्तो स्वाभिमानी राजीनामा नेपाली राजनीतिमा विरलै देखिन्छ ।
विचार र व्यवहारबीचको खाडल
तर वैद्यको जीवन पनि आलोचनाबाट मुक्त छैन । कसैले भन्छन्- उनी यति धेरै सैद्धान्तिक भए कि व्यवहार चुकाए । उनले ‘क्रान्ति’को सूत्र त लेखे, तर ‘परिवर्तन’को प्रयोगमा जनतालाई समेट्न सकेनन् ।
उनका भाषणहरू गहिरा छन्, तर युवाहरूका लागि गाह्रो । शायद यही कारण उनी ‘राजनीतिक स्टार’ होइन, ‘वैचारिक गुरु’ बने ।
उनले लोकप्रियता होइन, निष्ठा रोजे । आज जब कांग्रेस, एमालेका नेता र नेतृत्व सत्ता–समीकरण, काम गराईमा विवादित छन् । त्यसको तुलनामा वैद्यको सादगी र सन्तुलन अझ अर्थपूर्ण लाग्छ ।
‘वैद्य बा’को रूपान्तरण
अब उनी पार्टीका कार्यकर्ताहरूका लागि ‘महासचिव’ होइन, ‘वैद्य बा’ हुन्- सम्मानको प्रतीक। यो उपनाम उनीले मागेर होइन, नैतिकताको बलमा कमाएका हुन् ।
अहिले पनि उनी बिहान छिट्टै उठ्छन्, अखबार पढ्छन्, लेखन गर्छन्, र कहिलेकाहीँ पुराना साथीहरूसँग विचार विमर्श गर्छन् । उनको आवाज अझै पनि स्थिर छ, आँखामा दृढता अझै देखिन्छ । ‘म थाकेको हुन्न । महासचिव मैले अर्काे कमरेडलाई सुम्पेको छु । तर पनि म वैचारिक काममा, लेखनको काममा आफनो तर्फबाट सक्दो योगदान दिइनै रहन्छु ।’ पार्टी महासचिव पद छोड्दासम्म पार्टी बैठकलाई भर्चुअल सम्वोधन गदै उनले भने ।
वैद्यको कथा केवल व्यक्तिगत होइन, यो नेपाली वाम आन्दोलनको आत्मा हो । जहाँ सिद्धान्त, सन्देह र सत्ता एकसाथ जुध्छन् ।
उनले सम्झाउने गर्छन्- ‘कम्युनिष्ट आन्दोलनको सार वर्गसंघर्ष मात्रै होइन, मानवीय मुक्ति हो ।’ त्यो वाक्य आजको राजनीतिमा बौद्धिकताको स्पर्श हो।
८० वर्षमा पनि वैद्य राजनीतिक चर्चा र पुस्तकका पानामा बाँचिरहेका छन् । उनको जीवनले नयाँ पुस्तालाई सन्देश दिन्छ- ‘सत्ता क्षणिक हुन्छ, सिद्धान्त अमर।’ अझ उनले देखाएका छन्, ‘राजनीतिमा हार मान्ने होइन, पद त्यागेर पनि नैतिक रूपमा जित्न सकिन्छ ।’
उनले राजनीति ‘मञ्च’ होइन, ‘साधना’का रूपमा व्याख्या गरे। र यही कारण, इतिहासमा उनको नाम शक्ति–खोजी नेताहरूको भिडमा सिद्धान्तका सन्तका रूपमा अंकित हुनेछ । मोहन वैद्य ‘किरण’ नेपालको कम्युनिष्ट आन्दोलनको त्यो दीप हुन्, जो सधैं उच्च विचार र निष्ठाको उज्यालो फैलाइरहे । उनी राजनीतिक सफलता भन्दा पनि नैतिक गम्भीरताको पर्याय बनेका छन्।
आजको नेपालमा जब विचारहरू सस्तो र नेताहरू महँगो भएका छन्, वैद्य बाको सादगी र सिद्धान्तप्रतिको विश्वास सबैका लागि स्मरणीय छ ।
‘राजनीतिमा सफल हुन सजिलो छ,
तर सिद्धान्तमा अडिग रहन कठिन।
वैद्य बा त्यही कठिन बाटो हिँडे।’
.jpg)
