बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

तनहुँमा २४ घरमा क्षति

images
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले बागलुङ र तनहुँमा ठूलो क्षति पुर्‍याएको छ। बागलुङमा पछिल्ला दुई दिनमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। तनहुँमा भने बाढी र पहिरोका कारण विभिन्न स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ।

    बागलुङमा आइतबार मात्रै नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार एक जनाको मृत्यु भएको थियो।

    प्रहरीका अनुसार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। तमानखोला–३ धर्नासुकमा घर पहिरोले पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही क्षेत्रमा पहिरोले आठ घर बगाएको छ।

    तमानखोला–४ सन्तरमा घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती भने बेपत्ता भएकी छन्।

    यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन्।

    निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ।

    यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

    तनहुँमा २४ घरमा क्षति

    लगातारको वर्षाका कारण तनहुँका विभिन्न क्षेत्रमा बाढी र पहिरोले २४ घरमा क्षति पुगेको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ।

    क्षति भएका घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा समेत क्षति पुगेको छ। त्यहाँ एक सय बोरा धान भिजेको प्रहरीले जनाएको छ। भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराको फार्म र बङ्गुरको खोरसमेत बाढीले बगाएको छ।

    देवघाटको सीता गुफा परिसरमा पनि बाढीको क्षति

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना र सामग्रीमा क्षति पुर्‍याएको छ।

    प्रहरीका अनुसार बाढीले गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरमा रहेका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ।

    बाढीको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले सीता गुफामा पूजा गर्दै आएका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको जनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend