काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि स्वास्थ्य उपचारका लागि विदेश गएका देउवा १६९ दिनपछि बुधबार काठमाडौं फर्किएका हुन् ।
स्वास्थ्य उपचारका लागि पाँच महिनाअघि सिंगापुर हुँदै हङकङ पुगेका देउवा उपचार सकेर आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनको स्वागतका लागि कांग्रेसका शीर्ष नेतादेखि देशभरबाट आएका नेता–कार्यकर्ता विमानस्थल पुगेका थिए ।
पूर्वउपसभापतिहरू पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत नेताहरू विमानस्थल पुगेका थिए ।
देउवा विमानस्थलबाट निवास फर्कने क्रममा कांग्रेसका सयौँ नेता–कार्यकर्ताले नाराजुलुससहित उनको स्वागत गरेका थिए ।
स्वदेश फर्किएलगत्तै राजनीतिक सन्देश
स्वदेश फर्किएलगत्तै देउवाले अपिल जारी गर्दै आफू ‘नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर’ फर्किएको बताएका छन् । लामो उपचारपछि नेपाल फर्किँदा हिमालका शिखर, पहाडका हरियाली र तराईका विशाल मैदानले आफ्नै घरतर्फ बोलाएको अनुभूति भएको उनले उल्लेख गरेका छन् ।
देउवाको अपिलमा स्वास्थ्य अवस्थाभन्दा बढी कांग्रेसको वर्तमान अवस्था, युवा पुस्ताको असन्तुष्टि र राष्ट्रिय एकताको राजनीतिक सन्देश देखिन्छ ।
उनले जेनजी आन्दोलनका क्रममा आफूले युवा पुस्ताको ‘मौन पीडा र प्रखर आवाज’ दुवै सुनेको भन्दै कांग्रेसले युवाले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । विश्व बदलिएको स्वीकार गर्दै कांग्रेस पनि समयको गतिसँगै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
आन्दोलनका क्रममा शारीरिक पीडा भोगिरहेका बेला पनि त्यसबेला नै जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले राखेको देउवाले स्मरण गरेका छन् ।
‘मलाई राजनीतिक रूपमा लिनुपर्ने केही छैन’
लामो समयपछि स्वदेश फर्किएका देउवाले आफूलाई अब राजनीतिक रूपमा केही लिनुपर्ने आवश्यकता नरहेको बताएका छन् । बरु आफ्नो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्ने तथा त्यो अनुभव नयाँ पुस्तासँग बाँड्नु आफ्नो दायित्व भएको उनको भनाइ छ ।
कांग्रेसभित्र निराशा बढेको अवस्थामा पार्टीका नेता–कार्यकर्ताको मनोबल उठाउन र उनीहरूको भावनालाई पुनः जोड्नुपर्ने समय आएको पनि देउवाले बताएका छन् ।
उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने सन्देश दिएको प्रसंग स्मरण गर्दै अहिले पनि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय एकताको आवश्यकता रहेको बताएका छन् ।
‘मेरो जीवन खुला किताब हो’
देउवाले आफ्नो राजनीतिक जीवन राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर अघि बढेको दाबी गरेका छन् ।
‘कानुन र नीतिविपरीत कुनै काम नगरेको’ दाबी गर्दै उनले आफ्नो जीवन ‘खुला किताब’ भएको बताएका छन् । बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित तथा संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
१६९ दिनपछि देउवाको स्वदेश फिर्ती केवल लामो स्वास्थ्य उपचारपछि भएको घरफिर्ती मात्र नभई कांग्रेसको संकटपूर्ण राजनीतिक अवस्थाबीच उनको पुनरागमनका रूपमा पनि हेरिएको छ । उनको स्वागतमा विमानस्थलदेखि निवाससम्म देखिएको कांग्रेस कार्यकर्ताको उपस्थितिले पार्टीभित्र उनको राजनीतिक प्रभाव अझै कायम रहेको संकेत गरेको छ ।
.jpg)
