कांग्रेस विवाद

महाधिवेशन रोक्न संस्थापनइतरको दबाब, शशांक कोइरालाले पठाए सभापति थापासहितलाई पत्र

महाधिवेशन रोक्न संस्थापनइतरको दबाब, शशांक कोइरालाले पठाए सभापति थापासहितलाई पत्र

images
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किन थालेको छ। संस्थापनइतर पक्षले महाधिवेशनसहित पार्टीले पछिल्ला समय गरेका निर्णयहरू तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न माग गरेको छ।
    साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागिएको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाका संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति गगन थापा, केन्द्रीय कार्यसमिति, निर्वाचन आयोगलगायत सम्बन्धित निकायलाई पत्र पठाउँदै यस्तो माग गरेका हुन्। कोइरालाले सभापति गगन थापालाई तत्कालिन महामन्त्रीको रुपमा संवोधन गदै पत्र लेखेका छन् । 
    कोइरालाले सर्वोच्च अदालतले कांग्रेससम्बन्धी मुद्दामा पुनरवलोकनका लागि अनुमति दिएको विषयलाई आधार बनाउँदै महाधिवेशनसहित पार्टीका पछिल्ला निर्णयहरू तत्काल अघि नबढाउन आग्रह गरेका छन्।
    कांग्रेसमा गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई लिएर लामो समयदेखि विवाद कायम छ। तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी नभएको उक्त विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएका थिए।
    तर सर्वोच्चको उक्त निर्णयप्रति असहमति जनाउँदै देउवा र नेता पूर्णबहादुर खड्का पुनः सर्वोच्च अदालत पुगेका थिए। उनीहरूले दिएको निवेदनमा सर्वोच्चले हालै पुनरवलोकनका लागि निस्सा प्रदान गरेको छ।
    यही निर्णयलाई आधार बनाएर कोइरालाले कांग्रेसको आगामी महाधिवेशनलगायत त्यसपछि गरिएका पार्टीका निर्णयहरू तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न माग गरेका हुन्।
    कोइरालाको पत्रमा सर्वोच्च अदालतबाट पुनरवलोकनका लागि निस्सा प्रदान भइसकेको अवस्थामा त्यसको अन्तिम फैसला नआएसम्म पार्टीका महत्वपूर्ण निर्णय अघि बढाउँदा थप जटिलता उत्पन्न हुन सक्ने संकेत गरिएको छ।
    कांग्रेसमा भने यस विषयमा संस्थापन पक्ष र संस्थापनइतरबीच मतभेद थप गहिरिने संकेत देखिएको छ।
    सभापति गगन थापाले यसअघि पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६ गतेदेखि पार्टीको १५औँ महाधिवेशन हुने बताउँदै आएका छन्। उनले तल्ला तहका अधिवेशनको कार्यतालिकामा भने आवश्यकताअनुसार केन्द्रीय समितिबाट केही हेरफेर हुन सक्ने बताएका थिए।
    यता संस्थापनइतर पक्षले भने अदालतमा पार्टीसम्बन्धी मुद्दा पुनरवलोकनको प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा महाधिवेशनको प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने तर्क गरिरहेको छ।
    यही विवादबीच कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ। केन्द्रीय समिति बैठकमा समेत महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको वैधानिकता र सर्वोच्च अदालतको पछिल्लो निर्णयबारे बहस हुने देखिएको छ।
    संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा पार्टीको पछिल्लो अवस्था, संगठनात्मक विवाद, नेतृत्वको कार्यशैली तथा आगामी महाधिवेशनलगायत विषयमा छलफल गर्ने तयारी छ।
    राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा शशांक कोइरालाले सभापति थापासहित सम्बन्धित निकायलाई पत्र पठाएपछि कांग्रेसभित्रको महाधिवेशन विवाद थप सतहमा आएको छ।
    अब सर्वोच्चको पुनरवलोकन प्रक्रियालाई देखाउँदै संस्थापनइतर पक्षले महाधिवेशनको प्रक्रिया रोक्न दबाब बढाउने तयारी गरेको देखिन्छ भने सभापति थापा पक्ष भने पूर्वनिर्धारित कार्यतालिकामै महाधिवेशन सम्पन्न गर्ने पक्षमा छ।

    यस्तो छ पत्र

    772685881_2849401098754323_1021553079455829893_n.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend