काठमाडौँ । देशभर मनसुन सक्रिय रहेकाले आज (साउन १) पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि तथा पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले देशका विभिन्न भूभागमा वर्षा हुने जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
आज विशेषगरी देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
रातिको समयमा पनि मनसुनको प्रभाव कायम रहनेछ। देशभर सामान्यदेखि पूर्ण बदली रहने र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेस, कोशी र कर्णाली प्रदेशका केही भूभागमा पनि वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र बागमतीका हिमाली क्षेत्र तथा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि उत्पादन, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
.jpg)
