काठमाडौँ । भारतको उत्तर छत्तीसगढ तथा उत्तर–पूर्वी मध्य प्रदेश आसपास विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि नेपालमा पनि वर्षाको प्रभाव क्रमशः घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बिहान ८ बजे जारी गरिएको मौसम बुलेटिनअनुसार उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिण–पूर्वी उत्तर प्रदेशतर्फ जाने क्रममा छ । आगामी १२ घण्टाभित्र प्रणाली थप कमजोर भएर न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो प्रणालीको प्रभाव विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा बढी देखिएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी रहने भए पनि पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधारोन्मुख हुने उनको भनाइ छ ।
यद्यपि नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ भने पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको महाशाखाले जनाएको छ ।
आज कहाँ–कहाँ वर्षा ?
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोसी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा मधेससहित कोसी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ । कोसी र बागमतीका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
वर्षासँगै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्नसक्ने सम्भावना छ ।
राति पश्चिममा बढी वर्षा
शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया बदली रहनेछ । कोसी र मधेसमा भने आंशिकदेखि सामान्य बदली रहने अनुमान छ ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा तथा बागमतीका हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ ।
कोसीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा मधेस र कोसीका तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने मधेसका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ । लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुनसक्ने चेतावनी दिइएको छ ।
काठमाडौँमा पनि पानी पर्ने
शनिबार बिहान केही समय मौसम खुले पनि काठमाडौँ उपत्यकामा दिउँसो पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभएको छ ।
उहाँका अनुसार दिउँसो र राति उपत्यकामा मध्यमसम्म वर्षा हुनसक्नेछ । आइतबार दिउँसोदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने सम्भावना रहेको उहाँले बताउनुभएको छ ।
कति वर्षालाई हल्का, मध्यम वा भारी भनिन्छ ?
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा मानिन्छ । १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा भनिन्छ ।
त्यस्तै १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ ।
‘एक-दुई’, ‘केही’ र ‘अधिकांश’ स्थानको अर्थ
मौसम पूर्वानुमानमा प्रयोग हुने स्थानसम्बन्धी शब्दले पनि वर्षाको सम्भावित क्षेत्रफल जनाउँछन् ।
१० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना भए ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतसम्म भए ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतसम्म भए ‘केही स्थान’ र ५० देखि ८० प्रतिशतसम्म वर्षाको सम्भावना भए ‘धेरै स्थान’ भनिन्छ ।
८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना रहेमा मौसमविद्ले ‘अधिकांश स्थानमा वर्षा’ हुने प्रक्षेपण गर्छन् ।
.jpg)
