काठमाडौं । निर्धारित समय सकिनै लाग्दा सुपर सब गोन्कालो रामोसले गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगलले क्रोएसियामाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
एक गोलले पछि परेको अवस्थाबाट कप्तान क्रिस्टियानो रोनाल्डो र विकल्पका रूपमा मैदान प्रवेश गरेका रामोसको गोलमा पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा आफ्नो यात्रा अघि बढाएको हो। अब पोर्चुगलले प्रि–क्वार्टरफाइनलमा छिमेकी राष्ट्र स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
टोरन्टोमा सम्पन्न खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा टुंग्याएका थिए। तर दोस्रो हाफ सुरु भएपछि खेलले नाटकीय मोड लियो।
खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। त्यसपछि दबाबमा परेको पोर्चुगल बराबरी गोलको खोजीमा निरन्तर आक्रामक बन्यो। ५८औँ मिनेटमा राफेल लिआओको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएपछि पोर्चुगल बराबरी गर्ने सुनौलो अवसरबाट वञ्चित भएको थियो।
तर ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीमार्फत खेल बराबरी गर्यो। क्रोएसियाका निकोला भ्लासिचले पोर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपछि भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पश्चात् रेफ्रीले पेनाल्टी दिएका थिए। त्यसको जिम्मेवारी लिएका कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी बललाई जाली चुमाउँदै खेल १–१ को बराबरीमा पुर्याए।
रोनाल्डोका लागि यो प्रतियोगिताको तेस्रो गोल हो। यसअघि उनले समूह चरणमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए। साथै विश्वकप इतिहासमा उनको व्यक्तिगत गोलसंख्या ११ पुगेको छ, जससँगै उनी प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये संयुक्त नवौँ स्थानमा उक्लिएका छन्। यो विश्वकपको नकआउट चरणमा रोनाल्डोले गरेको पहिलो गोल पनि हो।
बराबरीपछि आत्मविश्वास बढाएको पोर्चुगलले लगातार आक्रमण जारी राख्यो। त्यसको प्रतिफल दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मिल्यो। विकल्पका रूपमा मैदान प्रवेश गरेका गोन्कालो रामोसले उत्कृष्ट हेडमार्फत निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए।
क्रोएसियाले त्यसपछि इन्जुरी टाइममै बराबरी गोल फर्काएको थियो। तर VAR जाँचपछि उक्त गोललाई अफसाइड ठहर गर्दै अमान्य घोषित गरियो। त्यससँगै पोर्चुगलले रोमाञ्चक जित सुनिश्चित गर्दै अन्तिम १६ को यात्रा तय गर्यो।
.jpg)
