काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचन सकिएसँगै अब पदाधिकारी चयनको रस्साकस्सी तीव्र बनेको छ। पार्टी सभापति रवि लामिछाने र उपसभापति बन्ने निश्चित भएका डा। स्वर्णिम वाग्ले पदाधिकारीका आकांक्षीहरूलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा सक्रिय छन्।
संशोधित विधानअनुसार रास्वपामा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये सभापतिसहित सात पद निर्वाचनबाट र बाँकी १२ जना मनोनयनबाट चयन हुनेछन्। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले अब एक खुला उपसभापति, एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि मात्रै निर्वाचन हुनेछ।
खुला उपसभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका विराजभक्त श्रेष्ठलाई अन्तिम समयमा सहमत गराइएपछि डा। स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुने बाटो खुलेको छ। त्यसैगरी महिला उपसभापतिमा पनि सहमतिको प्रयास भए पनि अन्ततः सोविता गौतम र डा। तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने अवस्था बनेको छ।
सुरुआतमा महिला उपसभापतिका लागि सोविता गौतमसँगै डा। तोसिमा कार्की, इन्दिरा रानामगर, प्रतिभा रावल, समीक्षा बास्कोटा र लिमा अधिकारीले दाबी गरेका थिए। तर संस्थापन पक्षको पहलपछि इन्दिरा, समीक्षा र प्रतिभाले सोवितालाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेका छन्। पूर्व कोषाध्यक्ष लिमा अधिकारीले पनि आफ्नो दाबी फिर्ता लिएर डा। तोसिमा कार्कीको प्रस्तावक बनेकी छन्।
उपसभापतिमा अडान लिईरहेका सोविता गौतम र डा। तोसिमा कार्की दुवै रास्वपाका लोकप्रिय युवा अनुहार हुन्। दुवैले लगातार दुई पटक प्रतिनिधिसभा निर्वाचन जितिसकेका छन्। तर राजनीतिक र व्यावसायिक पृष्ठभूमि हेर्दा डा। तोसिमा लामो समय सामाजिक अभियानमा सक्रिय रहनुका साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन, नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य तथा छोटो समय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी नेतृ हुन्। यति हुँदाहुँदै पनि उनी पार्टीभित्र उल्लेखनीय संगठनात्मक जिम्मेवारीमा आउन सकेकी छैनन्।
उता सोविता गौतम भने यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनित भइसकेकी थिइन्। अहिले महिला उपसभापतिमा पनि संस्थापन पक्षको पहिलो रोजाइ बनेपछि पार्टीभित्र शक्ति सन्तुलनबारे विभिन्न चर्चा सुरु भएका छन्।
कतिपय नेताहरूले सहकारी प्रकरणका बेला सोविताले सभापति रवि लामिछानेको पक्षमा खुलेर अभिव्यक्ति दिएको र डा। तोसिमा अपेक्षाकृत मौन बसेको प्रसंगलाई समेत जोडेर चर्चा गरिरहेका छन्। पार्टी सभापति लामिछाने र उपसभापति निश्चित भएका स्वर्णिम बाग्ले समेत सोवितालाई उपसभापति बनाउने गरी लागेपछि तोशिमा आक्रोशित देखिएकी छिन् । संस्थापन पक्षले भने सोवितालाई संगठन सञ्चालन क्षमता, राजनीतिक सक्रियता र पार्टीप्रतिको योगदानका आधारमा अघि सारिएको बताउँदै आएको छ।
महामन्त्री पदमा पनि सहमतिको प्रयास जारी छ। दाबी गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनाल छलफलपछि पछि हटेका छन्। तर कविन्द्र बुर्लाकोटी, मनीष झा, विपिन आचार्य, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश कार्की र सागर ढकाललगायतले उम्मेदवारी कायम राखेका छन्।
सहमहामन्त्रीका तीन पदका लागि पनि हरि ढकाल, यज्ञमणि न्यौपाने, रमेश प्रसाईं, पुकार बम, जगदीश खरेल, सुलभ खरेल, ज्वाला संग्रौला, असीम शाह र रिमा विश्वकर्मालगायत आकांक्षी देखिएका छन्।
रास्वपाको पदाधिकारी निर्वाचनले नयाँ नेतृत्व चयन मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन, संस्थापनको प्रभाव र आगामी राजनीतिक दिशाको संकेत पनि गर्ने भएकाले यसको परिणामलाई चासोका साथ हेरिएको छ।
.jpg)
