राजदूतसँग दूरी बनाएका प्रधानमन्त्रीले  इयू मिसन प्रमुखसँग सामूहिक संवाद गर्दैं

राजदूतसँग दूरी बनाएका प्रधानमन्त्रीले  इयू मिसन प्रमुखसँग सामूहिक संवाद गर्दैं

images
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । विदेशी राजदूत तथा कूटनीतिक नियोगसँग औपचारिक संवादमा सक्रिय नदेखिएका प्रधानमन्त्री बालेन शाहले भोलि मंगलबार युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ः३० बजे तय गरिएको उक्त भेटलाई सरकारको कूटनीतिक सक्रियता बढाउने प्रयासका रूपमा हेरिएको छ । प्रधानमन्त्री नियुक्तिपछि उनले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद गरे पनि त्यसयता कुनै पनि देशका राजदूतहरुसँग संवाद गरेका छैनन ।
    प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, यूरोपेली संघ आवद्ध देशका राजदूतहरुसँगको भेटमा नेपालको वर्तमान राजनीतिक तथा विकास प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण, विकास सहकार्य, लगानी, सुशासन तथा समसामयिक अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुनेछ ।
    प्रधानमन्त्री शाहले पछिल्लो समय विदेशी कूटनीतिक वृत्तसँग ‘लो-प्रोफाइल’ सम्बन्ध कायम राखेको टिप्पणी भइरहेका बेला इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँगको सामूहिक संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी विकास सहायता, लोकतान्त्रिक सुशासन, जलवायु परिवर्तन, मानवअधिकार र आर्थिक सहकार्यका क्षेत्रमा इयू नेपालको प्रमुख साझेदार मानिन्छ ।
    कूटनीतिक वृत्तमा प्रधानमन्त्री शाहले परम्परागत शैलीभन्दा फरक ढंगले कूटनीतिक सम्बन्ध अघि बढाउन खोजेको चर्चा भइरहेका बेला मंगलबारको भेटले सरकारको आगामी कूटनीतिक प्राथमिकता र अन्तर्राष्ट्रिय साझेदारीबारे थप संकेत दिने अपेक्षा गरिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend