रास्वपाको सचिवालय बैठक आज : अधिवेशन कार्यविधिदेखि संगठन विस्तारसम्मका एजेन्डा

रास्वपाको सचिवालय बैठक आज : अधिवेशन कार्यविधिदेखि संगठन विस्तारसम्मका एजेन्डा

images
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार दिउँसो बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय बालाजु चःमतिमा बस्ने बैठकका लागि विभिन्न महत्त्वपूर्ण विषय समेटेर कार्यसूची तय गरिएको छ।

    पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकमा मुख्यतः ६ वटा एजेन्डामाथि केन्द्रित भएर छलफल हुनेछ। तीमध्ये जिल्ला अधिवेशन कार्यविधि २०८३ लाई अन्तिम रूप दिने विषय प्राथमिकतामा राखिएको छ। बैठकमा पार्टीको बैंक खाता सञ्चालनसम्बन्धी व्यवस्था स्पष्ट गर्ने विषय पनि उठाइनेछ। यससँगै लामो समयदेखि रिक्त रहेका केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा मनोनयन गर्ने तयारी गरिएको छ।


    त्यसैगरी, आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदा तयार पार्न समिति गठन गर्ने एजेन्डा पनि बैठकमा पेश हुने जनाइएको छ। संगठन विस्तारका दृष्टिले प्रतिनिधिसभा सदस्यहरूलाई संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्ने विषयमा समेत निर्णय हुने अपेक्षा गरिएको छ।


    यस्तै, बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने, संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग व्यवस्थापन गर्ने तथा लेबी (आर्थिक योगदान) निर्धारण गर्ने विषयमा पनि निर्णय लिन सक्ने प्रवक्ता झाले जानकारी दिएका छन्।


    बैठकलाई रास्वपाको आन्तरिक संरचना सुदृढीकरण र आगामी महाधिवेशनको तयारीका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend