काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौं २४ देखि गर्ने प्रस्ताव जारी केन्द्रीय समिति बैठकमा पेश भएको छ । कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव मंगलबार केन्द्रीय समितिमा पेस गरेका हुन् ।
निर्वाचन परिणामपछि पार्टी र आफनो समेत हारको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका गगनको केन्द्रीय समिति बैठकले राजीनामा अश्वीकृत गर्ने निर्णय गरेपछि थापा मंगलबारको केन्द्रीय समिति बैठकमा पुगेका थिए । बैठकमा उनले भदौंमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् । सभापति थापाले यही चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश गरेका हुन् । उनले पेश गरेको कार्यतालिकामा क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ ।
विसं २०८३ जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यताबारे आवश्यक छानबिन गरी टुङ्ग्याउने गरी कार्ययोजना तय गरिएको छ । यस्तै असार मसान्तसम्म अध्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने र साउन ६ गते गाउँ÷नगर अधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।
प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ । त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको छ ।
.jpg)
