काठमाडौं । कांग्रेस सभापति गगन थापाले पार्टी सभापति पदबाट दिएको राजीनामा पार्टीको केन्द्रीय समिति बैठकबाट अस्वीकृत भएको छ । सभापति थापाले पार्टी र आफुसमेतको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सभापति पदबाट राजीनामा दिएका थिए ।
तर कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीको हार ब्यक्तिका कारण नभएको भन्दै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए । त्यसपछि गत शुक्रबारबाट जारी केन्द्रीय समिति बैठकमा आज (आइतबार) अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले राजीनामा अश्वीकृत गर्ने निर्णय गरेको हो । थापाले राजीनामा बुझाएपछि जारी केन्द्रीय समिति बैठकमा उनको उपस्थिती छैन ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाले दिएको राजीनामा केन्द्रीय समिति बैठकले अस्वीकृत गरेको जानकारी दिए ।
‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको छ। राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले राजीनामा अस्वीकार गर्ने निर्णय भएको हो,’ बैठकपछि प्रवक्ता चालिसेले भने, ‘राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको हो।’
गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति बनेका थिए। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिक तर्फ २० सिट गरी कुलमा ३८ सिट मात्रै जितेको थियो।
यही विशेष महाधिवेशन पछि कांग्रेस २.० अनुसार सुधारका कार्यक्रम कार्यान्वयनका लागि पनि सभापति थापाको राजीनामा अस्वीकृत भएको प्रवक्ता चालिसेले बताए।
अब थापाकै नेतृत्वमा पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने पनि उनले बताए।
.jpg)
