काठमाडौं । आगामी चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ । १२ चैतमा नवनिर्वाचित सांसदहरुको सपथ लगत्तै संसदको सबैभन्दा ठूलो दल राष्टिय स्वतन्त्र पार्टीले आफनो दलको बैठक बसेर वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी दल नेता चयन गर्नेछ । सोही दिन साँझसम्म राष्ट्रपति रामचन्द्र पौडेलकहाँ रास्वपाका तर्फबाट संविधानको धारा ७६ (१) अनुसार एउटै दलको बहुमत प्राप्त प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्ने तयारी रास्वपाको छ ।
रास्वपाले त्यसरी प्रधानमन्त्री दावी गरेपछि राष्टपतिले सोही दिन बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने र भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको सपथ गराउने गरी तयारी छ । त्यस अनुसारको ब्यवस्था मिलाउन रास्वपाले राष्टपति कार्यालयलाई आग्रह गर्नेछ ।
रास्वपाले सोही दिन नै मन्त्रिपरिषदलाई एकैपटकमा पूर्णता दिने तयारी छ । अर्थात रास्वपाले जति मन्त्रीमण्डल बनाउनेछ, सोही दिन नै सबै मन्त्रीहरुको सपथ एकै दिन गराउने गरी शीर्ष तहमा समझदारी बनाएको छ ।
त्यसो हुँदा मन्त्री छनौट गर्ने विषयमा सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बन्दै गरेका बालेन शाहका बीचमा छलफल गरेर टुंग्गो लगाइनेछ । रास्वपाले कम्तीमा १५ देखि बढीमा १८ सम्मको मन्त्रीपरिषद् बनाउने भएको छ । उसले चुनावका बेला मतदाताका बीचमा संघीय सरकारको मन्त्रालयको संख्या घटाउने बताएको थियो ।
.jpg)
