काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहका बीचमा बिहिबार छलफल भएपछि आजका लागि सचिवालय बैठक बोलाउने समझदारी बनेको थियो । सोही आधारमा आज रास्वपाले पार्टी सचिवालय बैठक बोलाएको हो ।
बैठकको समय र स्थान भने तय गरिएको छैन । सचिवालय सदस्यहरुलाई आज बैठक बस्ने केही समय अगाडी सूचना आउने र त्यही आधारमा समय ब्यवस्थापन गरिराख्न नेताहरुलाई निर्देशन गरिएको छ । रास्वपा प्रवक्ता मनीष झाले ‘पार्टी सभापतिको निर्देशनअनुसार सचिवालयको बैठक शनिबार बस्ने र बैठकको समय र स्थान सभापतिको स्वास्थ्य अवस्थालाई ख्याल गरेर तय गरिने जानकारी दिए ।
रास्वपा सभापति लामिछाने अस्वस्थ्थताका कारण बेड रेष्टमा छन् ।
बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, पार्टी विधान संशोधनलगायत विषयमा छलफल गर्नेछ । सचिवालय बैठकलगत्तै केन्द्रीय समिति बैठक बोलाएर समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउने र संसदीय दलको नेता निर्वाचनसम्बन्धी व्यवस्था विधानमा संशोधन गर्ने रास्वपाको तयारी छ । रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेको छ । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको सूची आइतबारसम्म पेस गर्न दलहरूलाई निर्वाचन आयोगले बिहीबार पत्र लेखेको थियो ।
.jpg)
