रुकुम पूर्वको पाखापानी, हार्दिबाङ र पेल्माको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

रुकुम पूर्वको पाखापानी, हार्दिबाङ र पेल्माको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

images
बिहिवार, फाल्गुण २१ २०८२
  • हिमाली जिल्ला रुकुम पूर्वका अति विकट मानिने तीन मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ । 

    भौगोलिक विकटताका कारण पैदल मार्गबाट ल्याउँदा दुई दिनसम्म समय लाग्ने भएपछि जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयको समन्वयमा हेलिकप्टर परिचालन गरिएको हो । 

    हेलिकप्टरमार्फत पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मा, सोही वडाको आधारभूत विद्यालय हार्दिवाङ र सिस्ने गाउँपालिका–१ स्थित साविक पाखापानी गाविस भवनमा रहेको मतदान केन्द्रका मतपेटिका सुरक्षित रूपमा सदरमुकाम रुकुमकोट ल्याइएको  छ । 

    प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहीबार साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टरबाट दुर्गम क्षेत्रका तीन मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याएको हो । “हिँडेर ल्याउँदा समय धेरै लाग्ने र सुरक्षा जोखिम समेत हुने देखिएपछि तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत झिकाइएको हो,” प्रजिअ परियारले बताइन्।

    जिल्लाका कुल ५७ मतदान स्थलमध्ये बाँकी ५४ केन्द्रका मतपेटिका भने पैदल मार्गबाटै आज रातिसम्म सदरमुकाम पुर्‍याइने लक्ष्य राखिएको छ । मतदान अधिकृत र सुरक्षाकर्मीको टोली मतपेटिका सहित रुकुमकोटतर्फ आइरहेका छन् । 

    जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका अनुसार आज रातिसम्म सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन् । सबै क्षेत्रका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर शुक्रबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । 

    जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र हाल गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

    -निराजन सिर्पाली 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend