काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका बारेमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएकी छिन् । स्वासथ्य बिमा बोर्डले व्ययभार बढेको भन्दै वर्षमा २५ हजार बराबरको मात्र बहिरंग (ओपीडी) सेवा दिने निर्णय गरेपछि सरकारको आलोचना हुन थालिरहेका बेला प्रधानमन्त्री कार्कीले त्यसबारे चासो देखाउँदै छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक आज (बुधबार) दिउँसो साँढे १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ ।
‘छलफलमा स्वास्थ्य बिमासँग सम्बन्धित सरोकारवाला निकायका सबै प्रतिनिधिलाई बोलाइएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलले भने । सात सदस्यीय परिवारबाट ३ हजार ५ सय रुपैयाँ लिएर वर्षमा १ लाख बराबरको स्वास्थ्य सेवा दिइरहेको बिमा बोर्डले अस्पतालहरूलाई भुक्तानी रकम बढी भएको भन्दै सोमबार सूचना जारी गरी सुविधा घटाएको थियो ।
फागुन १ देखि स्वास्थ्य बिमा गरेका एक परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी सेवा पाउने बोर्डले जनाएपछि प्रधानमन्त्रीले चासो राख्दै सर्वपक्षीय बैठक बोलाएकी हुन् ।
.jpg)
