वीरगञ्ज । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा सोमबार साँझबाट कर्फ्यु आदेश जारी गरेको थियो ।
सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरेको हो । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै जान थालेपछि स्थानिय प्रशासनले शान्ति सुरक्षा कायम राख्नका लागि कर्फ्यू जारी गरेको हो ।
कर्फ्यूको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं मा फोन गरी बाहिर निस्कन प्रशासनले अनुरोध गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास जारी राखिएको जानकारी दिए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ”, प्रमुख जिल्ला अधिकारी दाहालले भने, विवादको समाधानको प्रयासमा स्थानीय प्रशासनले काम गरिरहेको छ ।
कर्फ्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गर्न अनुरोध गरिएको छ ।
.jpg)
