रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो

images
शनिवार, पौष ५ २०८२
  •  
    भकुण्डे (म्याग्दी) । बेनी नगरपालिकाको रत्नेचौरर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको थियो । 
     
    बेनी नगरपालिका–२ भकुण्डेका बासिन्दा भिमबहादुर पौडेलले बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको बताए ।  “पहिलो पटक कालोपत्र गर्दा दोस्रो पटक सुधार्ला भन्ने आशा थियो,” उनले भने, “तर दोस्रो पटक कालोपत्र गरिएपछि पनि बिटिमुनले चिप्स नसमातेपछि खाल्डै खाल्डा भएको छ ।”
     
    बेनी नगरपालिकाले शुक्रबार भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अर्जम, भकुण्डेका बासिन्दाले सडक स्तरोन्नति योजना निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तरअनुसारको काम नभएको भन्दै प्रश्न उठाएका छन् । 
     
     
    पूर्णबहादुर सुवेदी, भिमबहादुर रिजाल, डम्मर सापकोटालगायतले सडक निर्माणमा देखिएको कमजोरीको विषयमा सम्बद्ध कार्यालयमा गुनासो गर्दा पनि सुनुवाई नगरेको गुनासो गरे । 
     
    उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ । 
     
    सार्वजनिक सुनुवाई कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष यामबहादुर कार्कीले सडक निर्माणमा भएको लापरबाहीका बारेमा अनुगमन समितिले लिखित पत्र पठाउँदासमेत बेवास्ता भएको बताउदै पुनःएक पटक सडक डिभिजन र ठेकेदारलाई बिग्रिएको सडकलाई सुधार गर्न लगाउने प्रयास गर्ने प्रतिवद्धता जनाए । 
     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend