निर्वाचन आयोगमा १२४ दल दर्ता, १५ नयाँ दल दर्ता प्रक्रियामा

निर्वाचन आयोगमा १२४ दल दर्ता, १५ नयाँ दल दर्ता प्रक्रियामा

images
शुक्रवार, कार्तिक ८ २०८२
  • काठमाडौं । निर्वाचन आयोगमा १२४ दल दर्ता भएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएसँगै निर्वाचन आयोगले कात्तिक मसान्तसम्म राजनीतिक दल दर्ताका लागि कार्यतालिका छुटटाएको छ । 
    कात्तिक २ सम्म आयोगमा दर्ता भएका दलहरुको सूची आयोगले सार्वजनिक गरेको छ । जसअनुसार १२४ दल दर्ताको सूचीमा छन् । आयोगले अन्य १५ नयाँ दलले दल दर्ताका लागि आयोगमा आवदेन दिएको र त्यस आवेदन अहिले अध्ययनका क्रममा रहेको समेत जनाएको छ ।
    आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ ।


    सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी रहेको छ, जसको अध्यक्ष नारायणमान बिजुक्छे र चिन्ह मादल हो । दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) परेको छ, जसका महासचिव चन्द्रप्रकाश (सीपी) मैनाली हुन् र चिन्ह हँसिया र तारा हो ।

    तेस्रोमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष लालबहादुर राना, चिन्ह भेडा) र चौथोमा नागरिक शक्ति, नेपाल (अध्यक्ष देवप्रकाश त्रिपाठी, चिन्ह त्रिशुल) रहेका छन् । पाँचौँ नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी दर्ता भएको छ, जसको अध्यक्ष मुस्कान पौडेल र चिन्ह पुरुष हो ।

     

    राष्ट्रिय राजनीति निर्धारण गर्ने ठूला दल पनि आयोगको अद्यावधिक सूचीमा क्रमशः समावेश छन् । नेकपा (एमाले) २३औँ नम्बरमा छ, जसको अध्यक्ष केपी शर्मा ओली र चिन्ह सूर्य हो । २५औँ नम्बरमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिन्ह गोलाकारभित्र हँसिया–हथौडा रहेको छ । नेपाली काँग्रेस २६औँ नम्बरमा दर्ता छ, सभापति शेरबहादुर देउवा र चिन्ह रुख हो । यस्तै राष्ट्रिय जनमोर्चा २७औँ नम्बरमा छ, अध्यक्ष चित्रबहादुर केसी र चिन्ह गिलास हो ।

    समकालीन राजनीतिक धारका नयाँ दल पनि आयोगको सूचीमा छन् । विवेकशील साझा पार्टी (अध्यक्ष समिक्षा बास्कोटा, चिन्ह तराजु) ६८औँ नम्बरमा, जनमत पार्टी (अध्यक्ष डा.चन्द्रकान्त राउत, चिन्ह लाउडस्पिकर) ७५औँ नम्बरमा, नेकपा (एकीकृत समाजवादी) (अध्यक्ष माधवकुमार नेपाल, चिन्ह कलम) ८८औँमा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (अध्यक्ष महन्थ ठाकुर, चिन्ह साइकल) ८९औँमा रहेका छन् ।

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी विप्लव समूहसँग आवद्ध भए पनि पार्टी आयोगमा कायम छ । त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एस)मा समाहित भइसके पनि उनको पार्टी दर्ता सूचीमै रहेको छ ।

    त्यसबाहेक आम जनता पार्टी (अध्यक्ष प्रभु शाह, चिन्ह मोबाइल), जनता प्रगतिशील पार्टी नेपाल (अध्यक्ष हृदयेश त्रिपाठी, चिन्ह कोदालो बोकेको किसान), नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रन्जिता श्रेष्ठ, चिन्ह ढकिया), नेपाल समाजवादी पार्टी (अध्यक्ष डा.बाबुराम भट्टराई, चिन्ह खुलेको आँखा) र राष्ट्रिय स्वतन्त्र पार्टी (अध्यक्ष रवि लामिछाने, चिन्ह घण्टी) पनि अद्यावधिक सूचीमा छन् ।

    नयाँ दल मध्ये जनता समाजवादी पार्टी (अध्यक्ष अशोककुमार राई) र राष्ट्रिय मुक्ति पार्टी नेपाल (अध्यक्ष राजेन्द्र महतो, चिन्ह ग्यास सिलिन्डर) पनि हालै दर्ता भएका हुन् । अन्तिम अर्थात् १२४औँ नम्बरमा जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टी २०८२ असोज २८ मा दर्ता भएको छ, जसको अध्यक्ष दीपककुमार साह छन् ।
    मधेस प्रदेश सरकारमा जनमत पार्टीभित्र विवाद भएपछि उक्त दलका नेताहरुले पार्टी विभाजन गदै जनस्वराज पार्टी गठन गरेका थिए । त्यस दल पनि आयोगमा दर्ता भईसकेको छ । 


    हेर्नुहोस अहिलेसम्म दर्ता भएका दलको सूची

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend