त्रिशूली बस दुर्घटना : नारायणी नदी किनारमा भेटियो १३ सव

त्रिशूली बस दुर्घटना : नारायणी नदी किनारमा भेटियो १३ सव

images
सोमवार, आषाढ ३२ २०८१
  • नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जनाको शव फेला परेका छन् । खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनापछि नारायणी नदी किनारमा ती शव फेला पारेपनि हालसम्म ८ जनाको मात्रै सनाखत भएको छ ।

    सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार ४ पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ । ती शव पनि नेपाल प्रहरीले आफन्तसँग सम्पर्क गरेर सनाखत गर्ने प्रयास गरिरहेको छ ।

    शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई यात्रुसहित पहिरोले त्रिशूली नदीमा बगाएको थियो ।

    एन्जल डिलक्समा टिकट काटेका २७ जना भएपनि सम्पर्कमा आएका आफन्तका अनुसार थप ११ जना पनि रहेको खुलेको छ । उक्त बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।


    यस्तै, गौरतर्फ जाँदै गरेको गणपती डिलक्समा टिकट चलानमा २४ जना देखिएको र थप तीन जनाका आफन्त पनि सम्पर्कमा आएको गरी २७ जना रहेको खुलेको छ । दुईवटा बसमा ६५ जना सवार रहेकोमा गौरतर्फ जाँदै गरेको गणपती बसका ३ जना बच्न सफल भएका छन् ।

    रौतहटका नन्दन दास, जुगेश्वर राय र सरोजकुमार गुप्ता दुर्घटनामा परे पनि बच्न सफल भएका हुन्। बाँकी ६२ जनाको सोहीदिनबाट खोजिकार्य भइरहेको छ । प्रहरीले दुर्घटनास्थलभन्दा तल नदी किनारमा अहिलेसम्म १३ वटा शव फेला पारेको छ । ती मध्ये ८ जनाको सनाखत भइसकेको छ ।

    गणपती डिलक्समा सवार भारतीय नागरिक ऋषिपल साहको शव भरतपुर महानगरपािलका २८ स्थित गोलाघाटमा फेला परेको थियो । दुर्घटनाको भोलिपल्ट बिहान फेला परेको शवको सनाखत साहका दाजुले गरेका थिए । त्यसैदिन एन्जल डिलक्समा रहेका चितवनका विकास परियारको शव गैडाकोट नगरपालिका ७ स्थित गैरीमा नारायणी नदी किनारमा फेला परेको थियो ।

    असार ३० गते फेला परेका थप ६ वटा शवको पनि सनाखत भइसकेको छ । गणपती डिलक्समा सवार सर्लाहीको बरथहवा नगरपालिका ३ का रमित कुसर माझीको शव पनि गैडाकोटको गैरीस्थित किनारमै फेला परेको थियो । भारतीय नागरिक जय प्रकाश ठाकुर र सजाद अन्सारीको शव छुट्टा छुट्टै स्थानमा फेला परेको छ । ठाकुरको शव भरतपुरको सालबासस्थित किनारमा र अन्सारीको शव गैडाकोटको गैरीस्थित नारायणी किनारमा भेटिएको हो ।

    भरतपुरकै सुदिप बिक, रौतहटका फिरोज राहुप मिया र बारका परमानन्द पण्डितको शव आइतबार त्रिवेणी ब्यारेजमा फेला परेको थियो । त्रिवेणी ब्यारेजमै सोमबार थप तीनवटा शव फेला परेका छन् । तर सनाखत हुन सकेको छैन। भरतपुरको सिसवारस्थित किनारमा र मध्यविन्दु नगरपालिका २ भुताहामा फेला परेको शव पनि सनाखत हुन बाँकी छ ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend