भाजुपुखूमा प्रतिबिम्बित समृद्ध इतिहास

भाजुपुखूमा प्रतिबिम्बित समृद्ध इतिहास

images
मंगलवार, जेठ २९ २०८१
  • उपत्यकालगायत मुलुकका विभिन्न भागमा प्राचीन पोखरीहरू नासिएका खबर आउँछन्। तर भक्तपुरमा भने पोखरीहरूको जीर्णोद्धार र पुनर्निर्माण गर्ने लहर चलेको छ। यसै लहरको पछिल्लो कडी हो-भक्तपुर-१, दुधपाटीस्थित भाजुपुखू अर्थात् भाजुपोखरी।

    सुरुमा तीन सय वर्ष पुरानो भनिए पनि अध्ययनका क्रममा १२औं शताब्दीमा निर्माण भएको प्रमाण फेला परेको छ। राजधानीको रानीपोखरीभन्दा पनि पुरानो मानिएको यो पोखरीमा समृद्ध इतिहास प्रतिबिम्बित छ।

    इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठले भाजुपोखरीको निर्माण रानीपोखरीको निर्माणभन्दा अगाडि भएको बताउँछन्। रानीपोखरी निर्माणमा देखिएको शैली भाजुपोखरीबाट प्रभावित भएको उनले बताए। त्यसैले यो पोखरीको पुनर्निर्माण वर्तमान समयको अविस्मरणीय क्षण भएको उनले बताए।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा ऐतिहासिक भाजुपुखू र पुखूको मध्यभागमा पुनर्निर्माण गरिएको जलेश्वर मन्दिरको शुक्रबार उद्घाटनसँगै पोखरीहरूको सहर भक्तपुरमा थप सुन्दरता छाएको छ।

    ‘भाजुपोखरीको संरक्षण, उत्खनन र पुनर्निर्माण भनेको प्राचीन सम्पदा संरक्षण र पुनर्निर्माण हो,’ कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, ‘भाजुपोखरीको इतिहास र सम्पदा पनि मानव सभ्यताकै एक धरोहर मान्नु अत्युक्ति हुने छैन।’

    भाजुपुखु नेपाली इतिहास, कला र संस्कृतिका अध्येता एवं जिज्ञासुका लागि प्रयोगशाला भएको भन्दै बिजुक्छेले यसको पुनर्निर्माणमा जुटेका सबैलाई धन्यवाद दिए।

    त्यस्तै कार्यक्रममा भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै मूर्त र अमूर्त सम्पदाले भरिएको भक्तपुर अहिले जीवित सङ्ग्रहालयका रूपमा परिचित हुँदै गएको बताए।

    यस पोखरीको विशेष महत्त्व बुझेर नै होला, शुक्रबारको उद्घाटन समारोह पनि निकै आकर्षक थियो। बिहान १०ः३० बजे नासमनाबाट र्‍याली सुरु भई वंश गोपाल, भार्वाचो हुँदै भाजुपुखूमा पुग्दा बाटोमा उभिएका सर्वसाधारणले ताली बजाउँदै कार्यक्रमको शोभा बढाए।

    कार्यक्रममा प्रमुख अतिथिबाट ‘भाजुपुखू र जलेश्वर मन्दिर पुनर्निर्माण’ पुस्तक विमोचनसमेत भयो। जसले पोखरीको समृद्ध इतिहासबारे विस्तृत वर्णन गरिएको छ।

    भक्तपुर नगरपालिकामा अहिले ३२ वटा पोखरी जीवन्त रहेका छन्। भाजु पोखरीसँगै यसअघि भक्तपुरको रानी पोखरीको पनि पुनर्निर्माण सम्पन्न भएको थियो। त्यस्तै नगरपालिकाले लोप भइसकेका भक्तपुर–६ को भोलाछे पुखू र भक्तपुर–८ को जेला पुखूको पनि पुनर्निर्माण सम्पन्न गरिसकेको छ।

    ‘भक्तपुरका पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

    Republished for test from https://nagariknews.nagariknetwork.com/social-affairs/1429289-1709968167.html 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend