निःसन्तान दम्पतिको उपचारका लागि टिचिङ अस्पतालमा आईभीएफ सेवा

निःसन्तान दम्पतिको उपचारका लागि टिचिङ अस्पतालमा आईभीएफ सेवा

images
मंगलवार, जेठ २९ २०८१
  • त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा निसन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आएको छ । अस्पतालले इन भिट्रो फर्टिलाइजेसन ( आईभीएफ) सेवासहितको उपचार केन्द्र सुरु गरेको हो । 

    स्वास्थ्य मन्त्रालयबाट आईभीएफ सेन्टर चलाउन स्वीकृति पाएपछि त्रिवि शिक्षण अस्पतालले आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए । 

    ‘अब त्रिवि शिक्षण अस्पतालबाट निसन्तान दम्पत्तिका लागि आईभीएफ सेवा सञ्चालन भएको छ,’ उनले भने, ‘आईभीएफ बाहेकका निसन्तान उपचारका सेवा अगाडि नै दिइरहेका थियौं । मन्त्रालयले आईभीएफको स्वीकृति दिएपछि आईभीएफ सेवा पनि सुरु भएको छ ।’

    अस्पतालका निर्देशक डा काफ्लेले ६ करोड लगानीमा अस्पतालमा आईभीएफ सेन्टर सञ्चालन गरेको जानकारी दिए ।

    आईभीएफ सेन्टरमा आवश्यक भौतिक संरचाना तथा प्रवधि तथा उपकरण व्यवस्थापनका लागि ६ करोड खर्च गरिएको डा काफ्लेको भनाइ छ ।

    डा काफ्लेका अनुसार आईभीएफ सेन्टरका लागि सरकारबाट साढे ४ करोड र बाँकी अस्पतालको आन्तरिक स्रोत मार्फत व्यवस्थापन गरिएको हो ।

    पछिल्लो सयम दम्पतिहरुमा निसन्तानपनको समस्या बढ्दै गएको छ । महिला र पुरुष दुवैमा निसन्तानपनको समस्या हुनसक्ने भएकाले उनीहरुको निसन्तानपनको कारण पहिचान तथा उपचार गर्न सेवा सुरु गरिएको डा काफ्लेको भनाइ छ ।

    आईभीएफ सेवा सञ्चालनका लागि त्रिवि शिक्षण अस्पतालका प्रसूति तथा स्त्री रोग विभागको प्राध्यापक तथा पूर्व विभागिय प्रमूख डा पदम राज पन्तले आईभीएफ सेन्टरको संयोजकको जिम्मेवारी पाएका छन् । 

    स्वास्थ्य मन्त्रालयले केही दिन अघि मात्र अस्पताललाई आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिएको हो । अस्पतालले आईभीएफ सेवा सञ्चालनका लागि मन्त्रालयमा गत असोज २१ गते निवेदन दर्ता गरेको थियो । मन्त्रालयले उक्त निवेदनपछि आवश्यक अनुगमन गरेर मापदण्ड पूरा गरेको पाएपछि हालसालै स्वीकृति दिएको हो ।

    सरकारी अस्पतालमा यसअघि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आईभीएफ सेवा सञ्चालनमा छ । स्वास्थ्य मन्त्रालयका अनुसार टिचिङ र प्रसूति गृहसहित हालसम्म १६ वटा संस्थाले आईभीएफ सेवा सञ्चालनको स्वीकृति पाएका छन् ।

    Republished for text from https://swasthyakhabar.com/story/56486

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend