काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘क्रमभंग’ गर्दै अघि बढ्न सुझाव दिएका छन्।
काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफूले विगतमा पटक–पटक राजनीतिक क्रमभंगता गर्दै आएको स्मरण गर्दै अब नयाँ पुस्ताले त्यसलाई निरन्तरता दिनुपर्ने बताए।
‘गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले–पहिले मैले गर्ने गरेको थिएँ,’ उनले भने, ‘शान्ति प्रक्रियालाई युद्धमा लान्थेँ, युद्धलाई शान्तिमा ल्याउँथेँ, शान्तिलाई संविधानमा लान्थेँ, संविधानलाई गणतन्त्रमा।’
अब आफूलाई क्रमभंग गर्न केही गाह्रो भइरहेको भन्दै उनले गगन र रवितर्फ संकेत गर्दै भने, ‘अब म सायद क्रमभंग गर्न अलि गाह्रो–गाह्रो भएको हो कि । अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ । तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल।’
प्रचण्डले गगन र रवि दुवै आफ्नो मन्त्रिपरिषद्का पूर्वमन्त्री भएको स्मरण गर्दै उनीहरूमा राजनीतिक चेत र सम्भावना रहेको बताए। दुवैप्रति आफ्नो उत्तिकै माया, भरोसा र सम्मान रहेको उनको भनाइ थियो।
‘चाहे रास्वपाको सभापति रविजी हुनुस्, चाहे नेपाली कांग्रेसको सभापति गगनजी हुनुस्, यहाँ लाइन लागेका मेरो क्याबिनेटका मन्त्रीहरू हुनुस्, मलाई सबैप्रति उत्तिकै माया छ,’ उनले भने, ‘उत्तिकै भरोसा र सम्मान छ। मलाई विश्वास छ, आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौं।’
सम्बोधनका क्रममा प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति भने चिन्ता व्यक्त गरे। देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै उनले सरकारका पछिल्ला अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले देश स्वेच्छाचारितातर्फ जाने खतरा पैदा भएको बताए।
‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कयौँ अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले शान्ति सम्झौताको अंगका रूपमा रहेको समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काम अझै बाँकी रहेको बताए।
‘हामीले अहिले जो समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको अंगको रूपमा पनि छ,’ उनले भने, ‘अझै केही चिज टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जान सक्छ।’
.jpg)
