काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय फेरि सार्ने तयारी थालेको छ। यसपटक भने कार्यालयका लागि अर्को भाडाको भवन खोज्नेभन्दा पार्टीकै स्वामित्वमा घर वा जग्गा किन्न उपयुक्त स्थान खोज्न पार्टी सदस्य तथा शुभेच्छुकलाई आग्रह गरिएको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले काठमाडौँ उपत्यकाभित्र पार्टीको कार्यालयका लागि पायक पर्ने स्थानमा घर वा जग्गा खरिद गर्न खोजी गर्ने निर्णय गरेको हो। पार्टीले उपयुक्त स्थान पहिचान गरी जानकारी गराउन आफ्ना सदस्य तथा शुभेच्छुकलाई अनुरोध गरेको छ।
रास्वपाका लागि यो निर्णय केवल कार्यालय स्थानान्तरणको विषय मात्रै होइन। चार वर्षअघि स्थापना भएको पार्टीले अहिलेसम्म केन्द्रीय कार्यालयका लागि विभिन्न स्थानमा भाडाका भवन प्रयोग गर्दै आएको छ। संगठन विस्तार र राजनीतिक गतिविधि बढ्दै जाँदा कार्यालयको आवश्यकता पनि क्रमशः बदलिँदै गएको देखिन्छ।
बसुन्धराबाट सुरु भएको यात्रा
रास्वपा २०७९ असार ७ गते औपचारिक रूपमा स्थापना हुँदा यसको केन्द्रीय कार्यालय काठमाडौँको बसुन्धरामा राखिएको थियो। त्यही दिन सभापति रवि लामिछानेले बसुन्धरास्थित कार्यालय उद्घाटन गरेका थिए । पार्टी स्थापना र निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया पनि त्यही समय अघि बढाइएको थियो।
स्थापनाको सुरुवाती चरणमा रास्वपाको संगठन सानो थियो। तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उल्लेख्य सफलता पाएपछि सांसद, नेता तथा संगठनात्मक संरचना विस्तार हुँदै गयो। त्यससँगै प्रारम्भिक कार्यालय पनि क्रमशः साँघुरो हुँदै गयो।
बसुन्धराको कार्यालयमा बैठक, पार्टीका विभिन्न गतिविधि तथा केन्द्रीय नेताहरूको आवागमन व्यवस्थापन गर्न कठिन हुन थालेपछि रास्वपाले स्थापनाको पहिलो वर्ष पूरा हुने समयमै कार्यालय सार्ने निर्णय गरेको थियो।
ठूलो ठाउँको खोजीमा बनस्थली
२०७९ असारदेखि सञ्चालनमा रहेको बसुन्धराको कार्यालयबाट रास्वपा २०८० असारमा बालाजु बनस्थली सरेको थियो। त्यसबेला पार्टीले बसुन्धराको तुलनामा निकै ठूलो भवन भाडामा लिएको थियो।
बालाजु बनस्थलीमा छ तले भवन लिएर कार्यालय सञ्चालनमा ल्याइएको थियो। त्यसबेला पार्टी नेताहरूले बैठक तथा कार्यक्रमका लागि पर्याप्त ठाउँ आवश्यक भएकाले कार्यालय विस्तार गरिएको बताएका थिए। बसुन्धराको कार्यालयमा करिब १०–१२ वटा कोठा मात्र रहेको र केन्द्रीय समिति तथा संसदीय दलका संयुक्त बैठकसमेत सञ्चालन गर्न कठिन हुने अवस्था रहेको उल्लेख गरिएको थियो।
अर्थात्, रास्वपाको पहिलो कार्यालय सानो भएकाले ठूलो भाडाको भवनमा सरेको थियो।
रास्वपाको केन्द्रीय कार्यालय अहिले वनस्थलीस्थित ‘घन्टीघर’ मा छ। पछिल्ला महिनाहरूमा पार्टीका केन्द्रीय समिति तथा सचिवालयका बैठक यही कार्यालयमा हुँदै आएका छन्। तर अब यही कार्यालय पनि स्थायी गन्तव्य नहुने संकेत रास्वपाले गरेको छ।
शनिबारको केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै उपत्यकाको पायक पर्ने स्थानमा पार्टीकै लागि घर वा जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
किन आफ्नै घर-जग्गा ?
रास्वपाको विधानले पनि केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने व्यवस्था गरेको छ। पार्टीले प्रचलित कानुनअनुसार चल९अचल सम्पत्ति प्राप्त गर्न, भोगचलन गर्न तथा व्यवस्थापन गर्न सक्ने व्यवस्था विधानमा छ।
यसअघि कार्यालयका लागि स्थान परिवर्तनको मुख्य कारण आवश्यकताअनुसार ठाउँ नपुग्नु थियो। बसुन्धराबाट बालाजु सर्दा पनि पार्टीले कार्यालय साँघुरो भएको कारण देखाएको थियो।
अहिले रहेको घर खाली गर्न केही अगाडी बनस्थली कार्यालय रहेको घरपेटीले रास्वपालाई भनेको थियो । त्यसपछि चुनाव लगायत कारण देखाउादै उसले त्यहीबाट कार्यालय चलाउादै आएको थियो । शनिबारको केन्द्रीय समिति बैठकले पार्टीले पटक–पटक भाडाको भवनमा कार्यालय सञ्चालन गर्नुभन्दा दीर्घकालीन रूपमा आफ्नै सम्पत्तिमा केन्द्रीय कार्यालय स्थापना गर्ने दिशातर्फ कदम चालेको देखिन्छ।
विशेषगरी स्थानीय तह निर्वाचनको तयारी, देशभर संगठन विस्तार र पार्टीका गतिविधि बढाउने योजना अघि बढिरहेका बेला रास्वपाले केन्द्रीय कार्यालयलाई पनि दीर्घकालीन संरचनाका रूपमा विकास गर्न खोजेको हो।
रास्वपाले तत्काल कुनै निश्चित ठाउँ घोषणा गरेको छैन। केन्द्रीय समिति बैठकले सदस्य तथा शुभेच्छुकलाई काठमाडौँ उपत्यकाभित्र पार्टीका लागि उपयुक्त हुने घर वा जग्गा खोज्न आग्रह गरेको छ।
.jpg)
