म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने सकुशल उद्धार गरिएको छ । निरन्तरको वर्षासँगै गिवाङमा गएको पहिरोमा पुरिएर ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरेका छन् ।
यसैगरी, बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
यससँगै शनिबार पहिरोमा परी म्याग्दीमा तीन जनाको मृत्यु भएको छ ।
फगाममा पहिरोमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट गएको सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएका उनीहरूलाई बेनी ल्याउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयका शिक्षक बाबुराम पौडेलका अनुसार फगाममा गंगाबहादुर पाइजाको घर पहिरोले पुरिएको छ ।
यसैबीच, मालिका गाउँपालिका–३ औँलामा पहिरोमा परेकाको समेत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूर्ण गाउँपालिकाका पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित सुरक्षाकर्मीको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको उनले बताए ।
बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा सडक तथा विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा समेत प्रभावित भएपछि उद्धार तथा विपद् व्यवस्थापनमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ ।
.jpg)
