काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनरागमन गराउँदै विधानमै व्यवस्था नभएको ‘वरिष्ठ नेता’ पद दिएर अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा राखेको छ।
एमालेको तीन दिन बसेर विहिबार सकिएको केन्द्रीय कमिटी बैठकले ओलीको संकट टादै भण्डारीलाई पार्टीको अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनीत गरेको हो। यसअघि सचिवालय बैठकले गरेको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।
तर, एमालेको हाल कायम विधानमा ‘वरिष्ठ नेता’ पदको व्यवस्था छैन। विधान महाधिवेशनबाट पदाधिकारी संरचना पुनःव्यवस्थित गर्दा यसअघि रहेको वरिष्ठ उपाध्यक्षको पदसमेत हटाइएको थियो। पछिल्लो संशोधित संरचनामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितका पदाधिकारी रहने व्यवस्था छ।
यसअघि एमालेको नवौं तथा दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था थियो। दशौं महाधिवेशनबाट ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। तर, त्यसपछिको विधान पुनर्संरचनासँगै वरिष्ठ उपाध्यक्षको पद हटाइएको थियो।
विधानमा व्यवस्था नै नभएको पद सिर्जना गरेर भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा राख्ने निर्णयलाई एमालेभित्रको पछिल्लो राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। भण्डारी लामो समय एमालेको उपाध्यक्ष रहेकी थिइन् र २०७२ देखि २०७९ सम्म दुई कार्यकाल राष्ट्रपति बनेपछि सक्रिय दलीय राजनीतिबाट अलग भएकी थिइन्।
राष्ट्रपति पदबाट निवृत्त भएपछि सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय भने लामो समय विवादमा परेको थियो। गत वर्ष उनको सदस्यता ‘पेन्डिङ’मा राखिएको थियो। पछि जेठमा एमाले सचिवालयले सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनको पार्टी राजनीतिमा फर्किने बाटो खुलेको थियो।
अब भने एमालेले उनलाई सामान्य सदस्यका रूपमा मात्रै होइन, अध्यक्षपछि दोस्रो वरीयताको नेताका रूपमा पार्टीको नेतृत्व संरचनामै स्थापित गरेको छ। यससँगै पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक पुनरागमन औपचारिक रूपमा भएको छ।
विधानले नचिनेको ‘वरिष्ठ नेता’ पदमा भण्डारीलाई राख्ने निर्णयले एमालेको संगठनात्मक संरचना र विधानको व्यवस्थामाथि पनि प्रश्न उठाएको छ। पार्टीले आगामी विधान महाधिवेशनबाट यो पदलाई औपचारिक रूपमा विधानमा समेट्छ वा हालको निर्णयकै आधारमा जिम्मेवारी सञ्चालन गर्छ भन्ने विषय भने आगामी प्रक्रियाले स्पष्ट गर्नेछ।
भण्डारीलाई दोस्रो वरीयतामा ल्याइएसँगै यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहेका रामबहादुर थापा ‘बादल’ तेस्रो वरीयतामा पुगेका छन्। यसले एमालेभित्रको विद्यमान वरीयता संरचनामा समेत परिवर्तन ल्याएको छ।
यसरी, केही समयअघिसम्म पार्टी सदस्यतामै अन्योलमा रहेकी भण्डारी अहिले विधानमै नरहेको पदमार्फत अध्यक्षपछिको दोस्रो वरीयताको नेताका रूपमा एमालेको नेतृत्व पंक्तिमा फर्किएकी छन्।
.jpg)
