कांग्रेसको देशैभर पालिका अधिवेशन

कांग्रेसको देशैभर पालिका अधिवेशन

images
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा कांग्रेसले पालिका अधिवेशन गर्न लागेको हो।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा समेत मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

    त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

    बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले रसुवाको अधिवेशनका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए।

    नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ।

    कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको निर्वाचन समितिले जनाएको छ।

    पालिका अधिवेशनपछि कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको सांगठनिक प्रक्रिया क्रमशः माथिल्लो तहका अधिवेशनतर्फ अघि बढ्नेछ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend