काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमणमा आज निस्कदैछन् । संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार अमेरिकाको न्युयोर्क जान लागेका हुन् ।
उनी १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यतालिका छ ।
चैत १३ मा प्रधानमन्त्री बने यता उनी कुनै पनि देशको भ्रमणमा गएका छैनन । राष्ट्रसंघीय महासभामा पनि उनी पहिला जाने तयारीमा थिएनन । तर, गत भदौं १० मा रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढीपछि ठूलो धनजनको क्षति भएपछि अन्तराष्टिय मञ्चमा प्रधानमन्त्रीकै तहमा सहभागी भएर जलवायु परिवर्तन, त्यसको असर र नेपालले भोगेको क्षतिका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउनु पर्ने मत देशभित्र बढेपछि उनी आफै न्यूयोक जान तयार भएका हुन् ।
नत्र उनले परराष्टमन्त्रीलाई नेपालको प्रतिनिधित्व गरेर पठाउने निर्णय लिईसकेका थिए । अन्तिम समयमा प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रसंघीय महासभामा सहभागी हुने टोलीको निधो लागेको हो । नेपाली समयअनुसार ९ असोज बिहान प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आउने–जानेबाहेक तीन दिन न्युयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।
प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटबाहेक कुनै पनि द्विपक्षीय भेटवार्ता गर्ने छैनन् । नेपाल आफैँले आयोजना गरेको सगरमाथादेखि समुद्रसम्मको जलवायुकेन्द्रित कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी नहुने भएका छन् । प्रधानमन्त्री शाह ९ असोजमा न्युयोर्कमा सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रको कार्यक्रम तालिकामा उल्लेख छ ।
.jpg)
