काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बलियो समूह निर्माण गर्दै सभापति निर्वाचित भएका शेरबहादुर देउवा अहिले आफ्नै समूहभित्र क्रमशः राजनीतिक साथ गुमाउँदै गएका छन् । १४औँ महाधिवेशनमा देउवाको प्यानलबाट निर्वाचित भएका अधिकांश पदाधिकारी र लामो समय उनको समूहमा सक्रिय नेताहरू अहिले गगन थापा नेतृत्वको संस्थापन पक्षमा जोडिन पुगेका छन् ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र दुई धार देखिएसँगै देउवा समानान्तर महाधिवेशनको तयारीमा छन् । तर, उनले आफ्नै समूहमा विश्वास गरेका नेताहरू भने धमाधम संस्थापनतर्फ लागिरहेका छन् । पछिल्लो पटक पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग निकट रहेका नेताहरूको ठूलो समूहले समेत देउवाको साथ छाड्ने निर्णय गरेको छ ।
यससँगै कुनै समय कांग्रेसको शक्तिशाली गुटका रूपमा रहेको देउवा समूह अहिले सीमित नेताहरूमा खुम्चिएको छ ।
आठमध्ये अब उमाकान्त मात्रै
१४औँ महाधिवेशनमा देउवा प्यानलबाट सभापतिसहित आठ जना पदाधिकारी निर्वाचित भएका थिए । उपसभापति पूर्णबहादुर खड्कासहित सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठोर, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी देउवा प्यानलबाट निर्वाचित भएका थिए ।
तर अहिले त्यो समूहको अवस्था फेरिएको छ ।
खड्का संस्थापन पक्षसँग जोडिएका छन् । आङदेम्बे र यादव पनि देउवा समूहमा छैनन् । राठोरसमेत पछिल्लो समय देउवा पक्षबाट अलग भइसकेका छन् भने डिना पनि गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेकी छन् ।
यसरी १४औँ महाधिवेशनमा देउवाको प्यानलबाट निर्वाचित आठ पदाधिकारीमध्ये अहिले उमाकान्त चौधरी मात्रै देउवाको पक्षमा रहेको अवस्था बनेको छ ।
देउवा समूहबाट पछिल्लो पटक भएको बहिर्गमन अझ ठूलो छ । विशेष महाधिवेशनअघि देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका तर त्यसपछि बाहिर परेका नेताहरूलाई वर्तमान कार्यसमितिमा समायोजन गर्ने निर्णय भएपछि करिब ३५ नेताले संस्थापन पक्षमा जाने निर्णय गरेका छन् ।
देउवा पक्षमै लामो समय प्रभावशाली भूमिकामा रहेका बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठोर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे र मीनबहादुर विश्वकर्मालगायत नेताहरू देउवाबाट अलग भएका छन् ।
ईश्वरी न्यौपाने, उमेश श्रेष्ठ, रामहरि खतिवडा र सीता गुरुङलगायत नेताहरू पनि गगन थापा नेतृत्वको संस्थापन पक्षसँग जोडिएका छन् ।
देउवासँग अब को छन् ?
देउवा पक्षबाट लगातार भइरहेको बहिर्गमनपछि उनको साथमा रहेका नेताहरूको संख्या पनि उल्लेख्य रूपमा घटेको छ ।
हाल देउवाको साथमा रहेका नेताहरूमा डा। शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, भीमसेनदास प्रधान, दीपक खड्का, पूर्णबहादुर तामाङ ‘कान्छाराम’, कुन्दनराज काफ्ले, जितजंग बस्नेत र दीपक कुइँकेललगायत छन् ।
.jpg)
