ओलीको आरोप : अहिलेको सरकार ‘छापा–मार’, दमनकारी शासकको अन्त्य निश्चित

ओलीको आरोप : अहिलेको सरकार ‘छापा–मार’, दमनकारी शासकको अन्त्य निश्चित

images
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सञ्चारमाध्यम, विशेषगरी छापा माध्यमलाई कमजोर बनाउने गरी अघि बढेको आरोप लगाएका छन् । उनले दमनकारी, पीडक र जनविरोधी शासकको अन्त्य हुने भन्दै अहिलेका शासकले पनि इतिहासबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

    नेपाल पत्रकार महासंघ तथा छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै ओलीले वर्तमान सरकारलाई व्यंग्यात्मक रूपमा ‘छापा–मार’ सरकारको संज्ञासमेत दिए ।

    ‘मैले देख्दा त अहिलेको सरकार ‘छापा–मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन, छापा मार सरकार,’ ओलीले भने, ‘त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो ।’

    छापा माध्यमले लोककल्याणकारी विज्ञापन कटौती, बजारमा आएको मन्दी र सरकारी बेवास्ताका कारण गम्भीर आर्थिक संकट व्यहोर्नुपरेको विषयमा पत्रकारहरूले ध्यानाकर्षण गराएपछि ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पूरक रहेको बताए ।

    उनले सञ्चारमाध्यममाथिको प्रहारले समग्र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने दाबी गरे । स्वतन्त्र प्रेसमाथि हुने हस्तक्षेप र स्वतन्त्रता विरोधी कदम लामो समय टिक्न नसक्ने उनको भनाइ थियो ।

    ओलीले इतिहासका विभिन्न राजनीतिक घटनाक्रम स्मरण गर्दै दमनकारी शासनको अन्त्य हुने दाबी गरे ।

    ‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो । ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ २०६३ सम्म पुग्दा अन्त्य भयो,’ उनले भने, ‘त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’

    उनले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकले जनताको आवाज दबाउन खोजे त्यस्ता शासकको विरोध र अन्ततः अन्त्य हुने बताए ।

    ‘जुन शासक दमनकारी हुन्छ, जुन शासक पीडक हुन्छ, जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज दबाउँछ, अरूलाई बोल्न दिँदैन, अरूलाई अप्ठेरोमा पार्छ र अरू अप्ठेरोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ,’ ओलीले भने, ‘त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ ।’

    उनले यो कुरा धर्मशास्त्रमा समेत रहेको उल्लेख गर्दै अहिलेका शासकका हकमा पनि उत्तिकै लागू हुने बताए ।

    ‘त्यो कुरा सत्य हो । अहिलेका लागि पनि सत्य हो । अहिलेका शासकले पनि बुझ्नुपर्ने कुरा हो,’ उनले भने ।

    ओलीले आफू व्यक्तिगत रूपमा समेत लामो समयदेखि समानता, स्वतन्त्रता र जनताको अधिकारका पक्षमा लड्दै आएको दाबी गरे । आफूले करिब ६० वर्षअघि संयुक्त राष्ट्रसंघको बडापत्र र मानव अधिकारको घोषणापत्र पढेको स्मरण गर्दै त्यसले आफूलाई समानता र स्वतन्त्रताको पक्षमा अघि बढ्न प्रेरित गरेको बताए ।

    आन्दोलनरत पत्रकारहरूलाई हरेस नखान आग्रह गर्दै ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘नलडी कोही हुन्न विजेता’ भन्ने पंक्ति स्मरण गराए ।

    ‘तपाईंहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस्,’ उनले भने ।

    ओलीले छापा माध्यमको संरक्षणका लागि एमालेको पूर्ण समर्थन रहेको बताए । छापा माध्यम ऐतिहासिक तथा तथ्यपूर्ण दस्ताबेजका रूपमा रहने भएकाले डिजिटल सञ्चारको विस्तारसँगै यसको महत्त्व समाप्त नहुने उनको भनाइ थियो ।

    उनले संसद् बैठक सुरु हुनेबित्तिकै सञ्चार क्षेत्रले भोगिरहेका समस्या तथा लोककल्याणकारी विज्ञापनको विषय एमालेका तर्फबाट जोडदार रूपमा उठाउने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend