चितवन । भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै विद्युतीय कार (ईभी) मा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो । आगलागीपछि कारभित्र रहेका चालकको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको कारमा आगलागी भएको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना जलेर मृत अवस्थामा फेला परेका थिए ।
शरीर पूर्ण रूपमा जलेका कारण मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
.jpg)
