हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गाबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
राक्सिराङको भावर हुँदै खरङ्गातर्फ आउँदै गरेको बा।प्र।०१–०२५ च ०८७७ नम्बरको कारलाई ग।२ च ६१५ नम्बरको पिकअपले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कारको सिटमुनि लुकाएर ल्याइएको १३ पोका गाँजा बरामद भएको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देवनारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ पक्राउ परेका छन्।
पिकअपले कारलाई ‘स्कटिङ’ गर्दै ल्याइरहेको र प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि पिकअपसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
“विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलो गाँजासहित दुईवटा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको हो,” उनले भने । पक्राउ परेका दुवै जनामाथि लागुऔषध ओसारपसारसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.jpg)
