सुर्खेतदेखि गोरखासम्मका सिडिओ हेरफेर, गृह मन्त्रालयले गर्‍यो २३ कर्मचारी सरुवा

सुर्खेतदेखि गोरखासम्मका सिडिओ हेरफेर, गृह मन्त्रालयले गर्‍यो २३ कर्मचारी सरुवा

images
शुक्रवार, भाद्र १९ २०८३
  • गृह मन्त्रालयले २३ कर्मचारी सरुवा गर्‍यो, सुर्खेतदेखि गोरखासम्म सिडिओ हेरफेर
    काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सहसचिव र उपसचिव तहका २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। सरुवासँगै विभिन्न जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाइएको छ भने केही सिडिओलाई गृह मन्त्रालय तथा मातहतका निकायमा फिर्ता ल्याइएको छ।
    मन्त्रालयले गृह मन्त्रालयका सहसचिव श्रवणकुमार पोखरेललाई जिल्ला प्रशासन कार्यालय झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाएको छ।

    सुर्खेतदेखि गोरखासम्म सिडिओ हेरफेर
    महेन्द्रकुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। त्यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।
    बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
    यसैगरी, खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

    रौतहट र पर्वतमा नयाँ सिडिओ
    रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

    लागूऔषध नियन्त्रण विभागमा ऋषिराम तिवारी
    गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभागको महानिर्देशकका रूपमा पठाइएको छ। त्यस्तै, सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गतबाट गृह मन्त्रालय, सिंहदरबारमै पदस्थापन गरिएको छ।

    डडेलधुरामा नयाँ सिडिओ, बाँकेमा सहायक सिडिओ
    डडेलधुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाँललाई राजपत्रांकित द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा पठाइएको छ। त्यस्तै, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

    भोजपुर, खोटाङ, सल्यान र म्याग्दीमा नयाँ सिडिओ
    मन्त्रालयले उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
    त्यस्तै, गृह मन्त्रालयका उपसचिव बन्दना केसीलाई सल्यानको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
    गृह मन्त्रालयले गरेको पछिल्लो सरुवा तथा पदस्थापनबाट विभिन्न जिल्ला प्रशासन कार्यालयमा नयाँ नेतृत्व पुगेको छ भने केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय तथा मातहतका निकायमा फिर्ता ल्याइएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend