काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण स्थगित गरेका छन्। रसुवा, नुवाकोटलगायतका जिल्लामा बुधबार आएको बाढीका कारण मन्त्री खनालले भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ।
खनाल आइतबार सर्बियाको राजधानी बेलग्रेडमा हुने असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन जाने कार्यक्रम थियो।
भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) बेलग्रेडमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल जाने तयारी थियो।
मन्त्री खनाल भ्रमणमा सहभागी नहुने भएपछि अब नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।
.jpg)
