काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल खोज, उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै उद्धार तथा राहतलाई थप प्रभावकारी र तीव्र बनाउन आग्रह गरेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार फोनवार्तामा पौडेलले विपद्मा परेका नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर खोज तथा उद्धारका कामलाई तीव्रता दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै प्रभावितको उद्धार, राहत र सहयोगका लागि सरकारका सबै संयन्त्र परिचालन गरिएको बताएका थिए। विपद्मा परेका नागरिकलाई आवश्यक सहयोग जुटाउन सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाएका थिए।
यसअघि राष्ट्रपति पौडेलले भोटेकोशीमा आएको अकस्मात् बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका कामलाई तीव्र बनाउन सरकारसहित सबै पक्षलाई आह्वान गरेका थिए।
उनले विपद्को समयमा राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय तथा आम नागरिकलाई उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेका थिए। साथै, भोटेकोशीको तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक समन्वय तथा सहयोग गर्न पनि राष्ट्रपतिले अपिल गरेका थिए।
.jpg)
