काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ सवारीसाधन र ब्रान्डबीचको प्रतिस्पर्धा अब प्रदर्शनीको मैदानमा देखिने भएको छ। राजधानीको भृकुटीमण्डपमा मंगलबार (आज)देखि १८औँ संस्करणको नाडा अटो शो सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा नेपालमा उपलब्ध तथा पछिल्लो समय बजारमा प्रवेश गरेका विभिन्न ब्रान्डका सवारीसाधन एकै ठाउँमा देख्न पाइनेछ। कम्पनीहरूले आफ्ना नयाँ मोडल, विद्युतीय सवारीसाधन र प्रिमियम सेगमेन्टका उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखेका छन्।
अटो शोका लागि सोमबार रातिसम्म पनि कम्पनीहरू स्टल सजाउने र सवारीसाधन प्रदर्शनका लागि तयार पार्ने काममा व्यस्त थिए। मंगलबार बिहानसम्म अधिकांश स्टलमा प्रदर्शन गरिने गाडी तथा अन्य सामग्री राखिसकिएको आयोजकले जनाएको छ। यसपटक स्टललाई अघिल्ला संस्करणभन्दा आकर्षक र प्रिमियम बनाउने प्रयाससमेत गरिएको छ।
ईभीमा सबैभन्दा ठूलो प्रतिस्पर्धा
यसपटकको नाडा अटो शोको मुख्य आकर्षण विद्युतीय सवारीसाधन बन्ने देखिएको छ। चारपाङ्ग्रे मात्र होइन, दुईपाङ्ग्रे विद्युतीय सवारीमा समेत विभिन्न ब्रान्डबीच प्रतिस्पर्धा देखिनेछ। ठूला व्यावसायिक घरानादेखि नेपालमा नयाँ ब्रान्ड भित्र्याइरहेका कम्पनीसम्मले नयाँ ईभी तथा नयाँ सेगमेन्टका मोडललाई प्रदर्शनीमा अघि सारेका छन्। विशेषगरी ३० देखि ५० लाख रुपैयाँ आसपासको ईभी बजारमा कम्पनीहरूबीच प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।
एमएडब्लू समूह, सिप्रदी ट्रेडिङ, सीजी मोटर्स, शारडा समूह, ज्योति समूह, लक्ष्मी समूह, विशाल समूह, सांग्रिला मोटर्स र शंकर ग्रुपलगायतका प्रमुख अटोमोबाइल व्यवसायिक समूह प्रदर्शनीमा सहभागी हुँदैछन्। कम्पनीहरूले आफ्नो बजार हिस्सा विस्तार गर्न नयाँ मोडललाई नाडा अटो शोमार्फत ग्राहकसम्म पुर्याउने रणनीति लिएका छन्।
१२३ सवारी ब्रान्ड
नाडाका अनुसार प्रदर्शनीमा १२३ वटा सवारी ब्रान्डका स्टल रहनेछन्। त्यसमध्ये २३ वटा प्यासेन्जर गाडी, १७ वटा कमर्सियल गाडी, १३ वटा दुईपाङ्ग्रे र ७० वटा स्पेयर पार्ट्ससँग सम्बन्धित स्टल छन्। समग्रमा बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित अन्य व्यवसायसमेत जोड्दा करिब २०० स्टल रहनेछन्। टायर, ब्याट्री, चार्जिङ प्रविधि, लुब्रिकेन्ट, स्पेयर पार्ट्स, हेल्मेट, सवारी ट्र्याकिङ तथा अन्य अटो कम्पोनेन्टका कम्पनीसमेत प्रदर्शनीमा सहभागी हुँदैछन्। यसले नाडा अटो शोलाई केवल गाडी हेर्ने प्रदर्शनीभन्दा पनि अटोमोबाइल क्षेत्रको समग्र बजार एउटै स्थानमा हेर्न सकिने प्लेटफर्मका रूपमा प्रस्तुत गर्नेछ।
नेपाली उत्पादनको पनि उपस्थिति
यसपटकको प्रदर्शनीमा विदेशी ब्रान्डसँगै नेपालमै विकास गरिएको सवारीसाधनले समेत ध्यान खिच्ने अपेक्षा गरिएको छ। सिप्रदी यात्रीले नेपालमै विकास गरेको ‘यात्री पी२’ विद्युतीय स्कुटर पहिलोपटक नाडा अटो शोमा प्रदर्शन गर्दैछ।
१० किलोवाट मोटर र ५।२ किलोवाटआवर ब्याट्री रहेको पी २ ले एकपटक पूर्ण चार्जमा १५७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
पी२ को व्यावसायिक मूल्य भने छुट्टै कमर्सियल लन्चका क्रममा सार्वजनिक गर्ने तयारी यात्रीले गरेको छ।
नयाँ मोडल सार्वजनिक गर्ने थलो
नाडा अटो शो यसपटक नयाँ उत्पादन सार्वजनिक गर्ने प्रमुख मञ्चसमेत बन्ने भएको छ। चिनियाँ विद्युतीय ब्रान्ड स्काईवेलको बीई११ पनि शोको पहिलो दिन सार्वजनिक गर्ने तयारी गरिएको छ। दुई ब्याट्री विकल्पमा आउने उक्त गाडीले एकपटकको चार्जमा क्रमशः ५२० र ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
त्यसैगरी एमएडब्लू, सिप्रदी, सीजी, शारडा, लक्ष्मी तथा अन्य समूहले समेत नयाँ मोडल र ब्रान्डलाई प्रदर्शनीमा अघि सारेका छन्।
गाडी किन्नेलाई बैंक र बीमा पनि एउटै ठाउँमा
अटो शोमा गाडी तथा मोटरसाइकल हेर्न आउने ग्राहकलाई खरिद प्रक्रियासँग जोडिएका वित्तीय सेवा पनि एउटै स्थानमा उपलब्ध हुनेछन्। विभिन्न वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले स्टल राखेका छन्। यसबाट ग्राहकले गाडीको मूल्य, कर्जा सुविधा, ब्याजदर तथा बीमा सेवाबारे प्रदर्शनीस्थलमै जानकारी लिन सक्नेछन्।
नाडाका अनुसार यसपटकको प्रदर्शनीले पछिल्लो समय परिवर्तन भइरहेको नेपाली अटोमोबाइल बजारलाई प्रत्यक्ष रूपमा देखाउनेछ। नयाँ प्रविधि, विद्युतीय सवारीको विस्तार र विभिन्न ब्रान्डबीच बढ्दो प्रतिस्पर्धा नाडा अटो शोका प्रमुख विशेषता बन्नेछन्। नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
.jpg)
