काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बन्दै गएका बेला पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच १० दिनदेखि भेट हुन सकेको छैन । पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किरहेका बेला सभापति थापाले विवाद समाधानका लागि देउवासँग भेट गर्न खोजे पनि देउवाले अहिलेसम्म समय दिएका छैनन् ।
थापाले गत बिहीबारदेखि नै देउवासँग भेटका लागि समय मागिरहेका छन् । देउवाका स्वकीय सचिव भानु देउवामार्फत थापाले भेटको समय मागेका हुन् । तर, देउवाले ‘एक–दुई दिनमा समय मिलाउँला’ भन्दै भेटलाई टार्दै आएका छन् । देउवा २८ साउनमा काठमाडौं फर्किएको १० दिन बितिसकेको छ । तर, थापाले बिहीबारदेखि भेटका लागि समय मागे पनि आइतबारसम्म भेट हुन सकेको छैन ।
देउवा पक्ष भने थापा नेतृत्वको कांग्रेसले अघि सारेको १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै आज पुनः सर्वोच्च अदालत जाने तयारीमा छ । शुक्रबार नै देउवा पक्ष रिट लिएर सर्वोच्च पुगेको थियो । तर, प्राविधिक कारण देखाउँदै अदालतले रिट दर्ता नगरी फिर्ता पठाएको थियो । अदालतले औँल्याएको प्राविधिक विषय सच्याएर देउवा पक्ष आज पुनः सर्वोच्च जान लागेको हो ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले देउवा पक्षको मागअनुसार पुनरावलोकनमा जाने निस्सा प्रदान गरिसकेको छ । उक्त विवादको अन्तिम निरुपण नभएसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गर्दै देउवा पक्षले महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश माग गर्न लागेको हो ।
यसरी देउवा पक्ष अदालत पुग्ने तयारीमा रहेका बेला थापा भने देउवासँग प्रत्यक्ष भेट गरेर विवाद समाधानको पहल गर्न चाहिरहेका छन् । कांग्रेस केन्द्रीय समितिले समेत सभापति थापालाई देउवासँग भेट गरी पार्टी एकताको पहल गर्न निर्देशन दिइसकेको छ । आफ्नै समूहका नेताहरूले पनि देउवासँग संवाद गरेर विवाद मिलाउन दबाब दिइरहेका छन् ।
त्यही आधारमा थापाले देउवासँग भेटका लागि निरन्तर प्रयास गरिरहेका हुन् ।
तर, देउवा थापासँग तत्काल भेट गर्न उत्साहित देखिएका छैनन् । देउवा निकट नेताहरूका अनुसार विशेष महाधिवेशनका क्रममा आफूलाई हटाउने प्रक्रियामा थापाले खेलेको भूमिकाप्रति देउवा असन्तुष्ट छन् ।
विशेषगरी आफ्नै निवासमा निर्घात कुटपिट भएको घटनापछि पनि तत्कालीन महामन्त्रीका रूपमा रहेका थापाले आफूलाई सान्त्वना दिनुको साटो विशेष महाधिवेशन बोलाएर नेतृत्वबाट हटाउने प्रक्रिया अघि बढाएको भन्दै देउवाको चित्त दुखाइ रहेको उनीनिकट नेताहरू बताउँछन् ।
देउवाका पूर्वस्वकीय सचिवसमेत रहेका डडेलधुराका कांग्रेस नेता कर्ण मल्लले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘बोलाउँछु भनेर खबर गरेको छु, बोलाउँदिनँ भनेको छैन । एक–दुई दिनमा समय मिलाएर गगनलाई बोलाउँछु ।’
देउवा पक्ष अदालतको निर्णय पर्खने मनस्थितिमा देखिन्छ । कांग्रेसको आधिकारिकतासम्बन्धी पुनरावलोकन मुद्दामा तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाउनेमा देउवा आशावादी रहेको उनीनिकट नेताहरूको भनाइ छ ।
‘अदालतको निर्णय प्रतीक्षा गर्ने मनस्थिति बनाइरहेको जस्तो लाग्छ,’ देउवालाई भेटेका एक नेताले भने ।
नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पनि सर्वोच्चमा विचाराधीन पुनरावलोकनसम्बन्धी मुद्दाको निर्णय पर्खने मनस्थितिमा देउवा रहेको बताए ।
अब देउवा पक्षले दायर गर्ने रिट सर्वोच्चले दर्ता गर्छ कि गर्दैन र दर्तापछि महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश दिन्छ कि दिँदैन भन्ने विषयले कांग्रेसको महाधिवेशन प्रक्रिया तत्काल अघि बढ्ने वा रोकिने भन्ने टुंगो लगाउनेछ ।
त्यसैले देउवा–थापा भेटभन्दा पहिले सर्वोच्चको निर्णय कुर्न देउवा चाहिरहेका हुन् कि भन्ने कांग्रेसभित्र चर्चा हुन थालेको छ । एकातिर सभापति थापा देउवासँग संवादमार्फत विवाद समाधान गर्न खोजिरहेका छन् भने अर्कोतिर देउवा पक्ष अदालतको बाटो रोज्दैछ । यसले कांग्रेसको आन्तरिक विवाद तत्कालै राजनीतिक संवादबाट समाधान हुनेभन्दा कानुनी लडाइँतर्फ जाने संकेत गरेको छ ।
.jpg)
