५ दिनसम्म मुस्ताङमा के गर्दैछन् प्रधानमन्त्री बालेन ?

५ दिनसम्म मुस्ताङमा के गर्दैछन् प्रधानमन्त्री बालेन ?

images
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह पाँचदिने भ्रमणका लागि आज बिहान मुस्ताङतर्फ प्रस्थान गरेका छन्। उनी बिहान ७ बजेर ५० मिनेटमा सरकारी निवास बालुवाटारबाट मुस्ताङका लागि निस्किएका हुन्।

    प्रधानमन्त्री शाह काठमाडौं–कुरिनटार–पोखरा–कुश्मा हुँदै सडकमार्गबाट मुस्ताङ पुग्ने कार्यक्रम छ। उनी थानकोट–नागढुंगा सुरुङमार्ग हुँदै आफ्नो यात्रामा अघि बढेका छन्।

    शनिबार र आइतबारको सार्वजनिक बिदासमेत उपयोग गर्ने गरी प्रधानमन्त्री शाहले पाँच दिन मुस्ताङमा बिताउने तयारी गरेका हुन्। यसअघि उनको भ्रमण छोटो हुने र काठमाडौं–पोखरा हवाईमार्ग हुँदै मुस्ताङ पुगेर आजै फर्किने जानकारी सार्वजनिक भएको थियो। तर, पछिल्लो कार्यक्रमअनुसार उनी सडकमार्गबाटै मुस्ताङ जाने र पाँच दिन त्यहाँ रहने भएका छन्।

    प्रधानमन्त्रीको पाँचदिने मुस्ताङ बसाइलाई लिएर भने चासो बढेको छ । आखिर पाँच दिनसम्म प्रधानमन्त्री शाह मुस्ताङमा के गर्दैछन् ?

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उनले मुस्ताङका विभिन्न क्षेत्रको अवलोकन तथा भ्रमण गर्नेछन्। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानमन्त्रीसँग सचिवालयका केही सदस्य पनि रहनेछन्।

    तर, पाँच दिन लामो भ्रमणको विस्तृत कार्यतालिका भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीको निजी भ्रमण, सरकारी काम वा मुस्ताङका विभिन्न विकास तथा पर्यटकीय क्षेत्रको अवलोकनमध्ये कुन विषयलाई प्राथमिकता दिइएको हो भन्ने स्पष्ट भइसकेको छैन।

    प्रधानमन्त्रीको मुस्ताङ भ्रमणसँगै अर्को संयोग पनि परेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा पनि आजै मुस्ताङ जाँदैछन्। उनी भने काठमाडौं–पोखरा हवाईमार्ग हुँदै मुस्ताङ पुग्ने तयारीमा छन्।

    कार्यपालिका प्रमुख प्रधानमन्त्री र न्यायपालिका प्रमुख प्रधानन्यायाधीश एकै दिन मुस्ताङ जान लागेपछि दुवैको भ्रमणलाई लिएर स्वाभाविक रूपमा चासो बढेको छ। यद्यपि, प्रधानन्यायाधीश शर्माको भ्रमण अदालत निरीक्षणसँग सम्बन्धित रहेको बताइएको छ। त्यसैले दुवैको भ्रमणको उद्देश्य फरक रहेको र एउटै दिन मुस्ताङ जाने कार्यक्रम पर्नुलाई संयोगका रूपमा लिइएको छ।

    प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई अर्को एउटा घटनाक्रमले पनि चासोपूर्ण बनाएको छ। यसअघि मात्रै साउन २९ देखि भदौ ३ गतेसम्म नेपालस्थित अमेरिकी दूतावासको सार्वजनिक मामिला विभाग प्रमुख माइक एम. हार्करसहितको विशेष टोली मुस्ताङमा बसेर फर्किएको थियो। टोलीले लो–घ्याकर गुम्बा आसपासका क्षेत्रमा भ्रमण तथा अवलोकन गरेको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend