२२ दिनमा कांग्रेस महाधिवेशन : वडा अधिवेशनदेखि प्रदेशसम्मको यस्तो छ कार्यतालिका

२२ दिनमा कांग्रेस महाधिवेशन : वडा अधिवेशनदेखि प्रदेशसम्मको यस्तो छ कार्यतालिका

images
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारी औपचारिक रूपमा चुनावी चरणमा प्रवेश गरेको छ। पार्टीले यसअघि तय गरेको ३५ दिने प्रक्रियालाई छोट्याएर अब २२ दिनमै वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अघि सारेको छ।

    निर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको पहिलो चरणमा निर्वाचन प्रतिनिधि र अधिकृत परिचालन गरिनेछ। केन्द्रीय निर्वाचन समितिले मंगलबारदेखि निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरणसमेत सुरु गरिसकेको छ।

    महाधिवेशन कार्यतालिका

    ११ भदौ — निर्वाचन अधिकृतलाई सम्बन्धित जिल्लामा खटाइने
    १५ भदौ — वडामा निर्वाचन प्रतिनिधि पठाइने
    १६–२० भदौ — वडा तहमा निर्वाचन प्रतिनिधिको अभिमुखीकरण
    भदौभित्र — विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन सम्पन्न गर्ने
    २४ भदौ — गाउँरनगर वडा अधिवेशन
    २७ भदौ — गाउँरनगरपालिका अधिवेशन
    ३१ भदौ — प्रदेश निर्वाचन क्षेत्र अधिवेशन
    ३ असोज — प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्र भएका जिल्लाको अधिवेशन
    ७ असोज — जिल्ला अधिवेशन
    १० असोज — प्रदेश अधिवेशन
    १६–१९ असोज — १५औँ केन्द्रीय महाधिवेशन

    कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति भने यसअघि नै तोकिएको असोज १६ देखि १९ लाई नै कायम राखेको छ। त्यसअघि स्थानीय तहदेखि प्रदेशसम्मका अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले निर्वाचन समितिले छोटो समयभित्रै सबै प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

    निर्वाचन अधिकृतहरूलाई सम्बन्धित जिल्लामा पठाएपछि स्थानीय तहबाटै निर्वाचन प्रक्रिया सुरु हुनेछ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अधिकृतहरूले आफ्नो जिम्मेवारी पाएका जिल्लामा पुगेर अधिवेशनको प्रक्रिया अघि बढाउनेछन्।

    महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको डिजिटल अभिलेख अद्यावधिक गर्ने कामलाई पनि अघि बढाइएको छ। डिजिटल अभिलेखमा अद्यावधिक हुन छुटेका सदस्यलाई पुनः निश्चित समय दिएर विवरण अद्यावधिक गर्ने निर्णय कांग्रेसले गरेको छ। प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधानको जिम्मेवारी सदस्यता व्यवस्थापन समितिलाई दिइएको छ।

    महाधिवेशनका लागि पार्टी सभापति गगन थापाको संयोजकत्वमा मूल तयारी समिति गठन भइसकेको छ। मूल समितिले आवास, भोजन, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायतका कामका लागि छुट्टाछुट्टै उपसमिति बनाउनेछ। प्रचारप्रसार समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे तोकिएका छन्।

    महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक दस्ताबेजको तयारी पनि समानान्तर रूपमा अघि बढिरहेको छ। सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’लाई केन्द्रमा राखेर मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ। उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी प्रस्ताव, पुष्पा भुसालले प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।

    महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। उक्त समितिले पार्टीका विभिन्न तह, निकाय र सदस्यबाट सुझाव संकलन गरी विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नेछ।

    महाधिवेशनको प्रक्रिया तीव्र रूपमा अघि बढाइरहँदा कांग्रेसभित्र भने यसको वैधानिकता र प्रक्रियालाई लिएर विवाद कायमै छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता तथा महाधिवेशनसम्बन्धी विषय अदालतमा विचाराधीन रहेको भन्दै प्रक्रिया रोक्नुपर्ने माग गर्दै आएको छ। देउवा पक्षले राष्ट्रिय भेला गर्दै देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने धारणा पनि अघि सारेको छ।

    सभापति थापाले भने असन्तुष्ट नेताहरूसँग संवाद जारी रहेको र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने बताएका छन्। उनका अनुसार असोज १६ लाई अदालतले महाधिवेशनका लागि अन्तिम आधार मानेकाले अब प्रक्रिया रोक्ने वा लम्ब्याउने सुविधा कांग्रेससँग छैन। त्यसैले छोटो अवधिमा सबै तहका अधिवेशन सम्पन्न गर्दै महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउने चुनौती कांग्रेससामु छ।

    महाधिवेशनको तयारीसँगै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारको कामकारबाहीबारे पनि प्रश्न उठाएको छ। तर पार्टीको तत्कालीन प्राथमिकता भने अब २२ दिनभित्र वडा अधिवेशनदेखि प्रदेश अधिवेशन हुँदै असोज १६ गते सुरु हुने केन्द्रीय महाधिवेशनको प्रक्रिया पूरा गर्नुमा केन्द्रित देखिएको छ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend