काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढ्दै गएको बताएका छन्। सरकार गठनपछि अपेक्षित परिवर्तनको अनुभूति हुन नसक्दा नागरिकमा निराशा बढेको उनको भनाइ छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सभापति थापाले आफूले नागरिकसँग निरन्तर संवाद गरिरहेको र उनीहरूमा तीन प्रकारको मनोविज्ञान देखिएको बताए।
उनका अनुसार कतिपय नागरिक वर्तमान अवस्था र भविष्यप्रति अनिश्चित छन्। कतिपयले विगतमा पनि राम्रो नभएको र अहिले पनि सुधार नदेखिएको भन्दै भोलिप्रति समेत आशा गर्न छाड्दै गएको अवस्था छ। अर्को समूहमा भने सरकारप्रति स्पष्ट आक्रोश देखिएको उनले बताए।
थापाले नागरिकमा देखिएको आक्रोशलाई कांग्रेसले खुसीको विषयका रूपमा लिन नहुने बताए। बरु त्यसबाट राजनीतिक दलहरूले गम्भीर पाठ सिक्नुपर्ने उनको भनाइ छ।
उनले गत भदौमा देखिएको जनआक्रोश कुनै आकस्मिक घटना नभएको दाबी गर्दै त्यसको पृष्ठभूमि लामो समयदेखि तयार हुँदै आएको बताए। २०८१, २०८० र २०७९ देखि नै दलहरूको गति र कार्यशैलीप्रति प्रश्न उठ्दै आएको र त्यसको परिणाम क्रमशः राजनीतिक घटनाक्रम तथा निर्वाचनमा देखिएको उनको विश्लेषण थियो।
‘जनताको आक्रोश एकै दिनमा जन्मिएको होइन’
थापाले २३ र २४ भदौ २०८२ मा देखिएको असन्तुष्टि र त्यसपछि फागुन २१ गतेको निर्वाचनमा आएको परिणामलाई एउटै राजनीतिक श्रृंखलाका रूपमा व्याख्या गरे।
उनका अनुसार नागरिकको असन्तुष्टि अन्ततः मतपत्रमार्फत अभिव्यक्त भएको हो। विगतमा आफूहरूले जनताको असन्तुष्टिबारे नेतृत्वलाई सचेत गराउँदै आएको स्मरण गर्दै उनले त्यसलाई बेवास्ता गर्दा राजनीतिक दलहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताए।
उनले कांग्रेसकै वरिष्ठ नेता अर्जुननरसिंह केसीले समेत नेपालमा जुनसुकै बेला बंगलादेशको जस्तो परिस्थिति आउन सक्ने चेतावनी पार्टीको औपचारिक बैठकमै दिएको स्मरण गरे।
थापाले अहिले पनि राजनीतिक दल र सरकारको कार्यशैलीमा सुधार नआए नागरिकबाट थप प्रतिरोध हुन सक्ने चेतावनी दिए।
‘एक्सप्रेस गाडी भए पनि लेन मिच्न पाइँदैन’
सरकार गठनपछिका सुरुका १०० दिनलाई कांग्रेसले ‘हनिमुन पिरियड’का रूपमा लिएर आवश्यक सहयोग गरेको थापाले बताए। तर सरकारको गति र कार्यशैलीप्रति प्रश्न उठाउँदा प्रधानमन्त्रीले आफूहरू ‘एक्सप्रेस गाडी’ भएको जवाफ दिएको उनको भनाइ थियो।
सरकार तीव्र गतिमा अघि बढ्न चाहे पनि शासन सञ्चालनमा नियम र संवैधानिक मर्यादा मिच्न नपाइने थापाले बताए।
उनले भने, ‘एक्सप्रेस गाडीमा ब्रेक राख्ने कि नराख्ने उहाँहरूको कुरा होला, तर एक्सप्रेस वेमा लेन मिच्न पाइँदैन। हामी दिँदैनौं।’
थापाले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्ति र कार्यशैलीप्रति समेत आपत्ति जनाए। मन्त्रीहरूबाट धम्कीपूर्ण भाषाशैलीमा ‘खुट्टा भाँचिदिन्छु’, ‘थुन्दिन्छु’ जस्ता अभिव्यक्ति आउन थालेको भन्दै उनले त्यसलाई लोकतान्त्रिक शासनको शैली नभई ‘छोटे राजा’ प्रवृत्तिको संकेतका रूपमा टिप्पणी गरे।
सरकारका मन्त्रीहरूमा यस्तो प्रवृत्ति बढ्दै गए कांग्रेसले खबरदारी गर्दै सरकारलाई सही बाटोमा ल्याउनुपर्ने उनले बताए।
सरकारलाई खबरदारी गर्नु कांग्रेसको संवैधानिक जिम्मेवारी
थापाले कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकाले सरकारलाई प्रश्न गर्नु र जिम्मेवार बनाउनु आफ्नो संवैधानिक दायित्व भएको बताए।
उनले सरकारलाई हरेक विषयमा विरोध गर्ने नभई गलत काममा खबरदारी गर्ने र सही काममा आवश्यक सहयोग गर्ने नीति कांग्रेसले लिनुपर्ने धारणा राखे।
बीपी कोइरालाको भनाइ उद्धृत गर्दै उनले राष्ट्रिय संकटका बेला कांग्रेस चुप लागेर बस्न नहुने बताए। पार्टीभित्रको समस्या समाधानसँगै राष्ट्रिय संकट समाधानका लागि समेत कांग्रेस सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
थापाले संवैधानिक निकायका पदाधिकारीमाथि दबाब दिने, उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर नियन्त्रणमा राख्ने वा न्यायपालिकामाथि प्रभाव पार्ने प्रयास स्वीकार्य नहुने बताए। यस्तो शैलीले शासन व्यवस्थालाई अराजकतातर्फ लैजाने उनको चेतावनी थियो।
सरकारले विगतका सबै नेताको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको प्रसंग उल्लेख गर्दै उनले आफ्नै सरकारका मन्त्रीहरूको सम्पत्तिबारे समेत छानबिन गरेर त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे।
‘तर्साएर तर्सिन्न, दबाएर दबिन्न’
कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्वप्रति भइरहेको आलोचनाबारे पनि थापाले बैठकमा धारणा राखे। उनले आफूलाई दबाब, धम्की वा प्रलोभनबाट प्रभावित पार्न नसकिने स्पष्ट पारे।
‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ, फकाएर फकिन्नँ। विधानको सीमा मलाई थाहा छ र विधानकै सीमाभित्र बसेर काम गर्छु,’ उनले भने।
कांग्रेसमा चार पुस्ता एकैसाथ सक्रिय रहेको उल्लेख गर्दै उनले सबै पुस्ता र नेताहरूलाई सम्मानका साथ समेटेर अघि बढ्ने बताए। विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा पार्टीभित्र कसैमाथि विभेद नगरिने उनको भनाइ छ।
आगामी असोजमा १५औँ महाधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले क्रियाशील सदस्यता अद्यावधिकलगायत विषयका कारण वडा तहसहित केही तहका अधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने बताए।
विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कांग्रेसले त्यसलाई कानुनी रूपमा दृढतापूर्वक प्रतिवाद गर्ने पनि उनले बताए।
पार्टीभित्रैबाट आफूविरुद्ध हुने आलोचना र सामाजिक सञ्जालमा हुने टिप्पणीबारे पनि थापाले धारणा राखे। आफूलाई वास्तविक रूपमा माया र समर्थन गर्ने मानिस पार्टीका तल्लो तहदेखि गाउँ–टोलसम्म रहेको उल्लेख गर्दै उनले त्यही विश्वासका कारण आफू कठिन राजनीतिक परिस्थितिबाट अघि बढिरहेको बताए।
सभापति थापाको समग्र अभिव्यक्तिले सरकारको कार्यशैलीप्रति कांग्रेसको समर्थन क्रमशः खबरदारीमा बदलिँदै गएको संकेत गरेको छ। साथै, सरकारप्रतिको जनअसन्तुष्टिलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर कांग्रेसले आफूलाई सक्रिय प्रतिपक्षीका रूपमा प्रस्तुत गर्ने रणनीति लिएको देखिन्छ।
.jpg)
